झापा । झापाको अग्रणी सहकारी संस्था विर्तामोड–४ स्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारण सभा अन्तरगत आजदेखि एकाईस्तरको सभा सुरु गरिएको छ । संस्थाले आफ्ना ५९ हजार २६३ जना सेयर सदस्यहरुलाई पायक पर्ने गरी इकाइगत साधारण सुरु गरेको हो ।
पहिलो दिन झापाका अलग–अलग तीन स्थानमा एकाई साधारणसभा आयोजना गरी १२ वटा सेवा केन्द्र अन्तरगतका सदस्यह माझ प्रतिवेदनमाथि छलफल गरिएको थियो ।
सिम्रिकका चारवटा सेवा केन्द्र शनिश्चरे बजार, गरामनी, बिर्ताबजार, बिर्तामोड र बिर्तामोडको शनिश्चरे रोड अन्तरगतका सदस्यहरु सहभागी गराएर बिर्तामोडमा प्रथम एकाई साधारणसभा गरिएको हो ।
यस्तै, लक्ष्मीपुर, कामाटोली र सुरुङ्गा बजार सेवाकेन्द्र अन्तरगतका सदस्य सहभागी गराई सुरुङ्गामा अर्को एकाई साधारणसभा गरिएको थियो । यसैगरी दमकमा आयोजना गरिएको एकाई साधारणसभामा पाडाजुँगी, क्याम्पसमोड, पुरानो आम्दा र पशुहाट सेवाकेन्द्र अन्तरगतका सदस्यहरुलाई सहभागी गराइएको थियो ।
कोशी प्रदेशका चार जिल्लामा कार्यक्षेत्र विस्तार गरेको संस्थाले समीक्षा वर्षमा ११ दशमलव ६४ प्रतिशतले बृद्धि गरी २ अर्ब ९३ करोड ६२ लाख ९४ हजार ६०७ रुपैयाँको वासलात बनाएको विर्तामोडमा आयोजित इकाईगत साधारणसभामा संस्थाका अध्यक्ष सुवास भट्टराईले जानकारी दिए ।
संस्थाले सेयर सदस्य बृद्धिमा लक्ष्यको ६५ प्रतिशत हासिल गरेको भए पनि शेयरपूँजी ७ लाख ४० हजार २०० रुपैयाँ घटेको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष भट्टरार्इले भने– ‘तर निक्षेपमा राखिएको लक्ष्य ५२ दशमलव २ प्रतिशतले उपलब्धि भएको छ, कर्जा लगानीमा ५३ दशमलव ३९ प्रतिशतले बृद्धि गरिएको छ ।’
आर्थिक मन्दीले तरलता संकुचन भएको कारण लक्षित उपलब्धि हासिल नभए पनि सिम्रिक साकोसले आफ्ना सबै शेयर सदस्यलाई ६ दशमलव ८३ प्रतिशत शेयर बोनस वितरण गर्ने तथा सक्रिय कारोबारी सदस्यहरुलाई ९२ लाख ११ हजार ७२१ रुपैयाँ १५ पैसा संरक्षित पूँजी फिर्ता गर्ने प्रस्ताव गरिएको छ ।
संस्थाका अध्यक्ष भट्टराईको अध्यक्षतामा आयोजित साधारणसभामा कार्यकारी प्रमुख कमलबहादुर वस्नेतले साधारणसभालाई भत्ता थाप्ने थलोका रुपमा नबुझ्न सदस्यहरुलाई सुझाव दिँदै संस्थाका सञ्चालक एवम् कर्मचारी र कारोबारका विषयमा प्रश्न गर्न अनुरोध गरेका थिए ।
तरलता अभावको कठिन मोडमा पनि सिम्रिकले आफ्ना शेयर सदस्यलाई माग गरेको समयमा बिलम्ब नगरी कर्जा उपलब्ध गराएको स्मरण गराउँदै कार्यकारी प्रमुख वस्नेतले सदस्य परिवारमा जन्मदेखि मृत्युसम्मका सुख दुखमा सिम्रिक पुग्ने गरेको जनाए ।
संस्थाले अघिल्लो वर्ष मात्रै सामाजिक उत्तरदायित्व अन्तरगत सदस्य र समुदायको लागि १ करोड ६३ लाख २६ हजार ३७५ रुपैयाँ खर्च गरेको जनाइएको छ ।
विर्तामोड नगरपालिका वडा नं ३ का वडाध्यक्ष मदन बुढाथोकीको प्रमुख आतिथ्यमा आयोजित एकाई साधारणसभामा विर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
एकाई साधारणसभा समारोहको सञ्चालन प्रेम वस्नेत (विजय)–ले गरेका थिए भने विभागीय प्रमुख मीनबहादुर अधिकारीले स्वागत गरेका थिए ।
साधारणसभाको कार्यतालिका अनुसार सोमबार इलामको दानाबारी सेवाकेन्द्र र अर्जुनधाराको खुदुनाबारी सेवा केन्द्रअन्तरगतका सदस्य सहभागी गराएर खुदुनाबारीमा कार्यक्रम गरिनेछ ।
यस्तै, इलाम जिल्ला अन्तरगतका हर्कटे, पशुपतिनगर, श्रीअन्तु र फिक्कल सेवा केन्द्रका सदस्यका लागि फिक्कलमा एकाई साधारणसभा हुनेछ भने झापाको गौरादह र गौरीगञ्ज सेवाकेन्द्रका सदस्यहका लागि गौरादहमा कार्यक्रम तय गरिएको विभागीय प्रमुख अधिकारीले जानकारी दिए ।