झापा । झापाको विर्तामोड–४ मा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा अन्तरगत आजदेखि इकाईगत साधारणसभा सुरु भएको छ ।
संस्थाको सदस्य सेवा केन्द्र धुलाबारीको इकाइगत साधारणसभाबाट १२ औं साधारणसभाको प्रक्रिया सुरु भएको हो ।
संस्थाका अध्यक्ष सुब्रत न्यौपानको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन संस्थाकी सल्लाहकार संयोजक सावित्राकुमारी लिम्बूले गरेकी थिइन् ।
कार्यक्रममा सेवा केन्द्र अन्तरगतका उत्कृष्ट सदस्यलाई सम्मान गरिएको छ । उत्कृष्ट कर्जा कारोबारकर्ता भीमकुमार विष्ट, उत्कृष्ट आवधिक बचतकर्ता रविना बस्नेत, उत्कृष्ट साधारण बचतकर्ता भीमप्रसाद पौडेल, उत्कृष्ट शिक्षा बचतकर्ता आर्यन÷आरुष मेचे, गत एसईईमा उत्कृष्ट नतिजा ल्याउने पुष्पकमल रिजाल र सौरभ दियालीलाई सम्मान गरिएको हो ।
अध्यक्ष सुब्रत न्यौपानले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै बजारमा आर्थिक मन्दीको व्यापक प्रभाव परे पनि संस्थाको शेयरपूँजी क्रमशः बृद्धि हुँदै गएको बताए । उनले आर्थिक वर्ष २०८०÷०८१ मा संस्थाको शेयर पूँँजी ३ करोड ५५ लाख १० हजार ३ सय, कोष हिसाब २ करोड २० लाख १ हजार ६९ रुपैयाँ ४७ पैसा रहेको जानकारी दिए । शेयर र कोष बृद्धिले संस्थालाई अझ बलियो बनाउँदै लगेको उनको भनाइ छ ।
त्यस्तै, कार्यक्रममा संस्थाका लेखा समिति संयोजक युवराज निरौलाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै बचत संकलन १८ करोड ५१ लख ४१ हजार ४ सय रुपैयाँ २२ पैसा पुगेको बताए । उनले संस्थामा बचत बृद्धिको योजना ल्याउनुपर्ने सुझाव दिए ।
यस्तै, संस्थाका ऋण उपसमिति संयोजक एवम् उपाध्यक्ष हेमराज मिश्रले ऋण लगानीका प्रमुख क्षेत्र, रकम र ब्याजदरका बारेमा सदस्यलाई अवगत गराए । उनले संस्थामा ३८६ जना महिला र ४५७ जना पुरुष गरेर ८४३ जना सदस्यलाई १८ करोड २० लाख ५ हजार ८ सय ८३ रुपैयाँ ५९ पैसा ऋण लगानी गरिएको जानकारी दिए ।
इकार्इगत साधारणसभाबाट अन्तिम माइन्युट प्रमाणीकरणका लागि तीनजना प्रतिनिधि छनोट गरिएको छ । इकार्र्इगत साधारणसभाले लक्ष्मी पाठक, चन्द्रमणि क्षेत्री र दिलमाया श्रेष्ठलाई प्रतिनिधि छनोट गरेको हो ।
संस्थाका सचिव सूर्यकुमार खतिवडाले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष हेमराज मिश्रले गरेका थिए ।
संस्थाको इकार्इगत साधारणसभा अन्तरगत भोलि १० गते सदस्य सेवा केन्द्र दुहागढीको राम जानकी मन्दिर, धाइजनमोडमा इकार्इगत साधारण सभा हुने छ । अन्तिम माइन्युट प्रमाणीकरण भेला १६ गते बुधबार बिर्तामोडस्थित अग्रसेन भवनमा हुने संस्थाले जनाएको छ ।