झापाको भद्रपुरमा एउटा अवैध गोदाममा राखिएको ठूलो परिमाणको लत्ताकपडा प्रहरीले बरामद गरेको छ । भद्रपुर–८ स्थित गणेश मन्दिरनजिकै मोहम्मद अफरोजको घरमा रहेको बिनादर्ताको गोदाममा छापा मारिएको हो ।
त्यहाँबाट प्रहरीले ८ पोका कपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनु भयो ।
स्थानीय दीपेश कामतीले कानूनी प्रक्रिया नगरी गोदाम सञ्चालन गर्दै आएको र शंका लागी छापा मार्दा ५ पोका कपडा र ३ पोका झुल बरामद भएको प्रहरीको भनाइ छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुर र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको संयुक्त प्रहरी टोलीले हिजो बेलुका गोदाममा छापा मारेको थियो ।
प्रहरीले छापा मार्दा कामतीले गोदाममा फेला परेको समानको आधिकारिक कागजात देखाउन नसकेपछि सो सामान अवैध ठहर गरी बरामद गरिएको र बरामद सामानको ८ लाख ५० हजार मूल्याङ्कन तोकेर स्थानीय भद्रपुर भन्सारमा बुझाइएको प्रहरीले जनाएको छ ।