यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट

झापा । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एसिया कपमा छनोट भएको हो ।

मलेसियाको वायुमास ओभलमा भएको फाइनल खेलमा नेपालले यूएईमाथि ४४ रनको जित हासिल गरेको हो । नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएई ४९।१ ओभरमा २६९ रनमा अलआउट भयो ।

 

यूएईका लागि राहुल चोपराले अविजित शतक बनाएपनि पर्याप्त हुन सकेन । तनिश सुरीले ४२ रन बनाए । कप्तान हरप्रित भाटियाले ३३ रन बनाए ।

नेपालका लागि करण केसीले ३ विकेट लिए । ललित राजवंशीले २ तथा कप्तान सन्दीप लामिछाने, रोहित पौडेल, गुल्शन झा, बसिर अहमद र दीपेन्द्रसिंह ऐरीले १(१ विकेट लिए ।

त्यसअघि वायुमास क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रनको बलियो योगफल खडा गरेको थियो ।

आसिफ शेखले १०६ बलमा ८ चौका र ४ छक्कासहित १०२ रन बनाए । गुल्शनले ३८ बलमा ३ चौका र ४ छक्कासहित ५२ रन बनाए । अर्जुन कुमालले ४३ तथा रोहित पौडेलले ४० रन बनाए ।

आसिफले आफ्नो ओडीआई करियरको दोस्रो शतक बनाएका हुन् । आसिफले आउट हुनुअघि अर्जुन कुमालसँग पहिलो विकेटका लागि ९७ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

त्यसपछि इशान पान्डेसँग दोस्रो विकेटका लागि ३६ रनको साझेदारी गरे भने तेस्रो विकेटका लागि रोहित पौडेलसँग ६८ रनको साझेदारी गरे ।

यूएईका लागि इबरार अहमदले ४ विकेट लिँदा खुजाइमा बिन तनभिरले २ विकेट लिए भने हैदर अली, अदीब उसमानीले १(१ विकेट लिए ।

नेपालले यसअघि सन् २०२३ को प्रिमियर कपको फाइनलमा पनि यूएईलाई नै पराजित गरेको थियो ।
फाइनल खेलमा आसिफ सेख म्यान अफ द म्याच बने भने प्रतियोगितामा सर्वाधिक विकेट लिएका नेपालकै कप्तान सन्दीप लामिछाने प्लेयर अफ द टुर्नामेन्छट घोषित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *