द्विदेशीय पर्यटन प्रवद्र्धनका लागि नेपाल र भारतका व्यवसायीबीच सम्झौता

लक्ष्मी उप्रेती

मादरीहाट (भारत) । नेपाल–भारतबीच धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दुई देशका व्यवसायीबीच सम्झदारी भएको छ । ट्राभल मञ्च झापा (टिएफजे) र इष्ट्रन डुवर्स टुरिजम डेभलपमेन्ट एशोसिएशन (इडीटिडीए)–बीच सात बुँदे सम्झदारीपत्रमा हस्ताक्षर भएको हो । दुबै संस्थाका प्रमुख प्रतिनिधिहरुले पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडा र भारत अलिपुरद्वार क्षेत्रका केन्द्रीय सांसद मनोज तिग्गाको रोहबरमा सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

मंगलबार र बुधबार भारतको पश्चिम बंगाल राज्यको जलदापाडा नेश्नल पार्क, अलीपुरद्वार मादरीहाटमा सम्पन्न इण्डो—नेपाल टुरिजम मिट २०२६ का अवसरमा भएको सम्झौतामा नेपालका तर्फबाट ट्राभल मञ्च झापा (टिएफजे)–का अध्यक्ष उदयकुमार श्रेष्ठ र सचिव नवराज (नविन) खरेल तथा र इष्ट्रन डुवर्स टुरिजम डेभलपमेन्ट एशोसिएशन (इडीटीडीए)–का तर्फबाट अध्यक्ष गोपाल सन्यासी र सचिव विश्वजीत साहाले हस्ताक्षर गर्दै पर्यटन प्रवद्र्धनको औपचारिक सहकार्य सुरु गरेका हुन् ।

नेपाल र भारतका पर्यटन व्यवसायीहरूले दुबै देशमा पर्यटकको आगमन बढाउन र पर्यटन प्रवद्र्धनका लागि विभिन्न फोरम तथा व्यावसायिक नेटवर्कमार्फत सहकार्य गर्दै एकठाउँमा उभिने समेत प्रतिवद्धता व्यक्त गरेका छन् ।

दुई देशबीचको धार्मिक, सांस्कृतिक र भौगोलिक निकटतालाई सदुपयोग गर्दै पर्यटक भित्र्याउन व्यवसायीहरूले यसअघि पनि संयुक्त प्रयासहरू गरिरहेका थिए ।

सहमतिपत्रमा दुई देशीय कार्यक्रम गर्दा संयुक्त रुपमा आयोजना गर्ने, दुबैतर्फका प्रतिनिधि रहने गरी तीनदेखि पाँच सदस्यीय बोर्ड गठन गर्ने, दुई देशका पर्यटकहरुको सुविधाका लागि संयुक्त रुपमा काम गर्ने लगायतका विषय समावेश गरिएको ट्राभल मञ्च झापा (टीएफजे)–का अध्यक्ष उदयकुमार श्रेष्ठले बताए । यो सम्झौतासँगै नेपालका ऐतिहासिक पर्यटकीय र धार्मिक स्थलको अवलोकनका लागि भारतीय र भारतको बाटो भएर आउने पर्यटकको संख्या बढ्ने ट्राभल मञ्च झापा (टीएफजे)–का सचिव नवराज (नविन) खरेलले बताए ।

इष्ट्रन डुवर्स टुरिजम डेभलपमेन्ट एशोसिएशन (इडीटीडीए) सचिव विश्वजीत साहाले भारतमा चाहेर पनि नजिकै रहेको नेपालबाट नै सोचे जति पर्यटक आउन नसकेको अवस्थामा अब सम्झौतापछि दुबै देशका व्यवसायी बसेर बिभिन्न कार्यक्रम बनाई प्रचार गरेपछि नेपाल—भारतमा पर्यटकको संख्यामा बृद्धि हुने विश्वास व्यक्त गरे । नेपालमा पनि भारतीय पर्यटक उति नै जाने सचिव साहाले बताए । उनका अनुसार दुई देशका व्यवसायीले पर्यटन प्रवद्र्धनका लागि बिभिन्न योजना बनाएर अब दुबै देशमा काम गर्नेछन् । कोशी प्रदेशमा अथाह प्राकृतिक क्षेत्र, ऐतिहासिक पर्यटकीय र धार्मिक क्षेत्र छन्, यसको प्रचार र प्रवद्र्धनको योजना नहुँदा धेरै पर्यटक काठमाडौ, पोखरा, चितवन, लुम्बिनी जनकपुरलगायत पुग्ने झापाका पर्यटन व्यवसायीहरुले बताएका छन् । अब यी दुई संस्थाबीचको सम्झौताबाट कोशी प्रदेशका ऐतिहासकि पर्यटकीय र धार्मिक क्षेत्र पनि पर्ने, यसले यहाँका पर्यटन व्यवसायीहरुलाई धेरै फाइदा पुग्ने बताइएको छ ।

टुरिजम फोरम झापा र इष्ट्रन डुवर्स टुरिजम डेभलपमेन्ट एशोसिएशनले संयुक्तरूपमा आयोजना गरेको कार्यक्रममा सांसद मनोज तिग्गाले जलदापाडा र बक्सा टाइगर रिजर्व मात्र नभएर अन्य क्षेत्रसमेत नेपाली पर्यटकका लागि आर्कषण बन्ने बताए । सांसद तिग्गाले बक्सामा बाघ ल्याउने तयारी भएको र बाघ नै ल्याएपछि पर्यटकको आर्कषण बढ्ने विश्वास व्यक्त गरे । जलदापाडाको विकासको लागि राज्य र केन्द्रीय सरकारको योजना चलिरहेको स्पष्ट पारे । सरकारले यहाँको पर्यटन विकासको लागि द्रुतगतिमा काम गरिरहेको भन्दै उनले अब घुम्नका लागि स्विट्जरल्याण्ड जानुनपर्ने र स्विटजरल्याण्ड हेर्नका लागि अलिपुरद्वारा जिल्ला आए हुने उनले स्पष्ट पारे ।

अलीपुरद्वार, कूचबिहार, जलपाईगुडी र सिलिगुडीलाई मिलाएर एक सर्किट पर्यटन योजनाको तयारीमा केन्द्रीय तथा राज्य सरकार रहेको सांसद तिग्गाले बताए । अब यसमा नेपाल पनि जोडिएकोले अरु फाइदा पुग्ने उनको विश्वास छ । सांसद तिग्गाले यहाँ मेडिकल कलेज, अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण हुने बताए । दुईवटा वन्यजन्तु आरक्षण केन्द्र यसअघि नै रहेका कारण यहाँ पर्यटकहरु आउने गरेको उनको भनाइ थियो । यहाँ आउने पर्यटकहरुको संख्या बृद्धि गर्न सके आर्थिक समृद्धिसमेत बृद्धि हुने र रोजगारको अवसर प्राप्त हुने उनको भनाइ छ ।

पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाले यस्ता सम्मेलनले दुवै देशलाई फाइदा पुग्ने बताउँदै यसका लागि दुबै देशका सम्बन्धित र सरोकारवालाहरू एकठाउँमा उभिनुपर्नेमा जोड दिए ।

इष्टन डुवर्स टुरिजम डेभलपमेन्ट एशोसिएशनका अध्यक्ष गोपाल सन्यासीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा टुरिजम फोरम झापाका अध्यक्ष उदयकुमार श्रेष्ठ, सचिव नवराज (नविन) खरेल, उद्योग वाणिज्य महासंघ कोशी प्रदेश उपाध्यक्ष ऋषिराज तिम्सिना, इष्टन डुवर्स टुरिजम डेभलपमेन्ट एशोसिएशनका सचिव विश्वजीत साहा, मादरीहाट लज व्यवसायी संघका अध्यक्ष जवाहरलाल साहालगायतले बोलेका थिए ।

कार्यक्रममा दुबै देशको पर्यटकीय क्षेत्रको डकुमेन्ट्री प्रस्तुत गरिएको थियो । कार्यक्रमको उद्घाटन सत्रको सञ्चालन इष्टन डुवर्स टुरिजम डेभलपमेन्ट एशोसिएशनका साँस्कृतिक विभागका सचिव सिमरन साहाले गरेकी थिइन् ।

कार्यक्रममा नेपाल, भारत, भूटानका सञ्चारकर्मी, सरकारी तथा गैरसरकारी संघ–संस्थाका प्रतिनिधि, उद्योगी–व्यवसायी, यातयात व्यवसायी, पर्यटक गाइडलगायतको सहभागिता थियो ।

कार्यक्रम समापनका अवसरमा नेपाल तथा भारतलगायत विभिन्न क्षेत्रबाट सहभागीहरुले कूचविहार क्षेत्रमा रहेका धार्मिक एवम् ऐतिहासिक पर्यटकीय स्थल, तात्कालीन कोच राजाको दरवार, मदन मोहन मन्दिरलगायतको स्थलगत अवलोकन र छ किलोमिटर साइक्लिङ गरेका थिए । साइक्लिङ सोसाइटी कूचविहारले आयोजना गरेको कार्यक्रममा भारत, नेपाललगायतका साइकल राइडरहरूको सहभागिता थियो । नेपालतर्फको नेतृत्व झापा साइक्लिङ क्लबका अध्यक्ष आकाश श्रेष्ठले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *