झापा । झापाको भद्रपुर १० स्थित वीरेन्द्र नमूना क्याम्पसको १७ औँ क्याम्पस सभा आज सम्पन्न भएको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष टिकाराज ढकालको अध्यक्षतामा आयोजित सभाको प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले गरेका थिए ।
सभामा क्याम्पसका अक्षयकोषका दाताहरूलाई सम्मान गरिएको थियो भने उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।

क्याम्पसमा रू. २ लाखको स्व. इन्द्रबहादुर कार्की तथा स्व. धनमाया कार्की स्मृति अक्षयकोष स्थापना गर्ने छोरा उदय कार्की, रू. १ लाख १ हजारको स्व. रघुवीर श्रेष्ठ स्मृति अक्षयकोष स्थापना गर्ने छोरा यमबहादुर श्रेष्ठ र स्व. गुरुप्रसाद पोखरेल तथा स्व. लक्ष्मीदेवी पोखरेलको स्मृतिमा अक्षयकोष स्थापना गर्ने छोरा–बुहारी किशोर तथा कल्पना पोखरेललाई सम्मान गरिएको थियो ।

वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सभाका अध्यक्ष ढकालले क्याम्पसको वर्तमान अवस्थाको चित्रण गरेका थिए । क्याम्पसका प्राचार्य विवेक पोखरेलले स्वागत गरेको समारोहको सञ्चालन शिक्षा संकायका विभागीय प्रमुख झमक बस्नेतले गरेका थिए ।

समारोहमा श’भकामना मन्तव्य राख्दै नगरप्रमुख पोखरेले स्थानीय सरकारलाई जेन्जी आन्दोलनपछि बनेको वर्तमान संघीय सरकारले कमजोर बनाउन विनियोजित बजेट कार्यान्वयन गर्न नसक्ने गरी आदेश–निर्देश जारी गरेर जनबिरोधी कार्य गरिरहेको बताए । उनले जनताका लागि छुट्याएको रकम रोकेर सरकारले लोकतन्त्रको धज्जी उडाएको पनि उल्लेख गरे ।

नगर उपप्रमुख राधा कार्कीले समेत शुभकामना मन्तव्य राखेको क्याम्पस सभाको बन्द सत्रमा अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन र क्याम्पसको आय–व्यय पारित गरिएको थियो ।
