झापा । सन् २०२६ भद्रपुरमा आयोजना हुने नेपाल जेसीजको ५३ औँ महाधिवेशनका सन्दर्भमा बृहत अन्तरक्रिया गर्दै भद्रपुर जेसीजले यस वर्षको जेसीज सप्ताह समापन गरेको छ ।
हिजो साँझ भद्रपुर–८ स्थित नेपाल सामुदायिक विकास केन्द्रको सभाहलमा भद्रपुर जेसीजका अध्यक्ष शैलेस श्रेष्ठको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख, भद्रपुर जेसीजका पूर्व अध्यक्ष गणेश पोखरेलको प्रमुख आतिथ्यमा अन्तरक्रियासहित जेसीज सपताह समापन गरिएको हो ।

भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की, वडाध्यक्षहरु, भद्रपुर जेसीजका पूर्व अध्यक्ष, मानार्थ सदस्य, झापाका अन्य जेसीजका अध्यक्ष, जुनियर जेसीज, विभिन्न संघ–संस्था प्रमुख तथा प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको समापन समारोहमा सन् २०२६ को नेपाल जेसीजको राष्ट्रिय महाधिवेशनका लागि कार्यक्रम निर्देशक तथा भद्रपुर जेसीजका पूर्व अध्यक्ष वसन्त पोखरेलले भद्रपुर र झापाको पहिचानलाई थप उजागर गर्न महाधिवेशन महत्वपूर्ण मञ्च बन्नसक्ने भएकोले झापाका सबै जेसीज एकजुट हुनुपर्नेमा जोड दिए ।
भद्रपुर जेसीजका महासचिव हेडम्बराज निरौलाले सञ्चालन र कार्यक्रम संयोजक आरोग्य तिम्सिनाले स्वागत गरेको समारोहमा कार्यक्रमका मूल संयोजक निरप्रसाद अधिकारीले जेसीज सप्ताहअन्तर्गत मंसिर २५ गते उद्घाटनसहित भद्रपुर १० स्थित जेसीज गाउँ (ढेना वस्ती)–का बालबालिकालाई शैक्षिक तथा खेलकुद सामग्री वितरण, युवासँग जेसीज तालिम, सीमाक्षेत्र मेची पूलमा लागुऔषधविरुद्धको जनचेतनामूलक कार्यक्रम, जेब्रा क्रसिङ जनचेतना अभिबृद्धि, प्रेस क्लव भद्रपुरसँग मैत्रीपूर्ण फुटबल प्रतियोगिताजस्ता सामाजिक क्रियाकलाप गरिएको जानकारी दिए ।
