भद्रपुर । झापाको भद्रपुरमा श्रम कानून तथा बोनस वितरण सम्बन्धी अन्तरक्रिया गरिएकाे छ ।
श्रम तथा रोजगार कार्यालय झापाको आयोजना तथा झापा उद्योग वाणिज्य संघको समन्वयमा संघको सभाहलमा आयाेजित कार्यक्रममा उद्योग तथा व्यवसाय सञ्चालनका क्रममा पालना गर्नुपर्ने श्रम कानूनका प्रावधान, श्रमिकको अधिकार, रोजगारदाताको दायित्व तथा बोनस वितरण सम्बन्धी कानुनी व्यवस्थाबारे जानकारी गराइएको थियो ।
झापा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष राजकुमार राईको अध्यक्षता तथा श्रम तथा रोजगार कार्यालय झापाका प्रमुख सुलभ श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्लाका उद्योगी, व्यवसायी तथा सरोकारवालाको सहभागिता थियो ।

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले नेपालको श्रम ऐन–२०७४ अनुसार कुनै पनि प्रतिष्ठानले श्रमिकको सेवा, सुविधा र सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताए । उनले श्रमिकलाई नियुक्तिपत्र, न्यूनतम पारिश्रमिक, बिदा, सामाजिक सुरक्षा तथा सुरक्षित कार्यस्थल उपलब्ध गराउनु रोजगारदाताको कानुनी दायित्व रहेको जानकारी गराए । उनले बोनस ऐन अनुसार नाफामा सञ्चालन भएका प्रतिष्ठानहरूले श्रमिकलाई वार्षिक बोनस वितरण गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै श्रमिक र रोजगारदाताबीच सुमधुर सम्बन्ध कायम भए मात्र उत्पादनशीलता र व्यवसाय दिगो बन्न सक्ने बताए । सरकारले चिया बाहेक श्रमिकका लागि न्यूनतम तलब १९ हजार ५५० रुपैयाँ तोकेको छ । तोकेको तलब महिना सकेको तीन दिनभित्रै उपलब्ध गराउनु पर्ने कानुनी प्रावधान रहेको उनको भनाइ छ ।
अन्तरक्रियामा सहभागी उद्योगी तथा व्यवसायीहरूले श्रम कानून कार्यान्वयनका क्रममा देखिएका व्यवहारिक समस्या, श्रमिक व्यवस्थापन तथा बोनस वितरणसँग सम्बन्धित जिज्ञासा राखेका थिए । कार्यक्रमले श्रम कानूनको प्रभावकारी कार्यान्वयन, श्रमिक अधिकार संरक्षण तथा उद्योग–व्यवसाय क्षेत्रमा श्रम सम्बन्ध सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको संघका कार्यवाहक अध्यक्ष राईले बताए ।
झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठ लगायतले मन्तव्य राखेको कार्यक्रमको सञ्चालन संघका महासचिव सुमन्त मैनालीले गरेका थिए ।
