भाष्कर शर्मा
विर्तामोड । झापाको विर्तामोड नगरपालिकाले सञ्चालनमा ल्याएको सुविधासम्पन्न नगर अस्पतालको हाताभित्र अर्काे अत्याधुनिक भवन निर्माण हुने भएको छ । अस्पतालको सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउने गरी नयाँ भवन बनाउन लागिएको हो ।
भौतिक पूर्वाधार व्यवस्थापन भएपछि मात्रै नगर अस्पतालको सेवा विस्तार गर्न सकिने भएकाले सुविधा सम्पन्न भवन निर्माण गर्न लागिएको नगर प्रमुख पवित्रा महतारा प्रसाईले जानकारी दिइन् ।
बिहीबार बिहान अस्पताल परिसरमा आयोजित एक कार्यक्रमका बीच नगर अस्पतालको नयाँ भवन शिलान्यास गरिएको छ । नगरप्रमुख प्रसाईले भवनको शिलान्यास गरिन् ।
प्रमुख प्रशासकीय अधिकृत बिनोदकुमार न्यौपानेका अनुसार संघीय सरकारले उपलब्ध गराएको १५ करोड ३४ हजार रुपैयाँको लागतमा नगर अस्पतालको नयाँ भवन निर्माण हुन लागेको हो । विभाष इन्टरनेशनल काठमाडौँले २०८१ फागुन २६ मा पूरा गर्ने गरी भवन निर्माणको ठेक्का लिएको छ । तीन तले अस्पताल भवन २८ हजार ९६१ स्क्वायर फिटको हुने नगरका इञ्जिनियर नरेन्द्र श्रेष्ठले बताए ।
यसअघि गत फागुन २० गते सभामुख देवराज घिमिरेले नगर अस्पतालको एउटा भवन उद्घााटन गरेका थिए ।
नगरबासीको सुविधाका लागि निर्माण भएको नगर अस्पतालमा हरेक दिन दुई सयको हाराहारीमा सर्वसाधारण उपचारका लागि आउने गरेका छन् । नगर अस्पतालमा डाइलोसिस सेवा पनि उपलब्ध छ ।
नगर अस्पतालको सेवालाई विस्तार गर्दै लैजाने उद्देश्य राखेर पूर्वाधार निर्माणमा जोड दिइएको उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले जानकारी दिए ।
भवन निर्माण सम्पन्न भएपछि बिर्तामोड नगर अस्पताल १५ शैयाबाट २५ शैयाको हुनेछ । नगर अस्पतालमा अहिले एकजना एमडीजीपी, तीनजना एमबीबीएस डाक्टरसहितको सेवा उपलव्ध छ ।