सौम्य शर्मा
विर्तामोड । रोट्रयाक्ट क्लव अफ विर्तामोड मिडटाउनले अर्जुनधारा जलेश्वरधाममा ‘उत्सवमा रोट्रयाक्ट’ कार्यक्रम गरेको छ । श्रावणी पर्वको अवसर पारेर गएको सोमबार रोटयाक्ट विर्तामोड मिडटाउनले सो कार्यक्रम गरेको हो ।
अर्जुनधारा जलेश्वरधाममा जल चढाउन आउने भक्तजनलाई लक्षित गर्दै बिहान ४ः३० बजेदेखि ११ः४५ बजेसम्म सञ्चालन गरिएको सो सेवात्मक कार्यक्रममा १५०० भन्दा बढी दर्शनार्थीलाई तातो चिया, २०० लिटरभन्दा बढी चिसो पानीर वाइल्ड मिस्ट पेय पदार्थ वितरण गरिएको थियो ।
कार्यक्रमको उद्देश्य श्रावण महिनाको पवित्र अवसरमा मन्दिरमा आएका हजारौँ भक्तजनलाई सेवा पुर्याउनु रहेको कार्यक्रमको नेतृत्व गरेका सामुदायिक सेवा निर्देशक रोट्रयाक्टर देव शर्माले बताए । क्लवको ‘उत्सवमा रोक्ट्रयाक्ट कार्यक्रम’को यो तेस्रो संस्करण रहेको पनि उनले जानकारी दिए ।
कार्यक्रममा २५ जना रोट्रयाक्टरको सक्रिय सहभागिता थियो । ‘उत्सवमा रोट्रयाक्ट’ जस्ता कार्यक्रमहरूले क्लवको निःस्वार्थ सेवा र आध्यात्मिक सम्बन्धका मूल्य–मान्यतालाई प्रतिबिम्बित गर्ने उनले बताए । उनले भने– ‘हामी यस अर्थपूर्ण परम्परालाई निरन्तरता दिन पाउँदा गर्वित छौँ र सदस्यहरूले देखाएको समर्पणले हामीलाई प्रेरित बनाएको छ ।’

कार्यक्रमका लागि बिहानै चिया पकाउने उपकरणहरू व्यवस्थापन गरेका रोट्रयाक्टर दिनेश खतिवडा, तीन कार्टुन वाइल्ड मिस्ट पेय पदार्थ प्रायोजन गरेका रोट्रयाक्टर मिनेश अग्रवाल र चियापत्ती उपलब्ध गराएका रोट्रयाक्टर पियुष खेतानको विशेष योगदान रहेको शर्माले बताए । यो कार्यक्रमलाई आगामी वर्षहरुमा निरन्तरता दिइने क्लवले जनाएको छ ।
