झापाको हल्दिबारी गाउँपालिकाको आफ्नै लगानीमा वडा नं १ र ५ लाई जोड्ने भूतेनी खोलामा ४२.७ मिटर लम्बाइ र ७.२ मिटर चौडाईको पक्की पूल निर्माण भएको छ ।
झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य, पूर्व उपप्रधानमन्त्री एवम् राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले २ करोड ३० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको सो पूल एक समारोहका बीच आज उद्घाटन गर्नुभएको छ
।
२०७९ कात्तिक ७ गते सम्झौता भएको पुल निर्माणको म्याद २ वर्षको रहेकोमा ५ महिनाअघि नै निर्माण सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र)–ले जानकारी दिए ।
अब वडा नं १ र ५ का वासिन्दालाई आवतजावतमा सहज हुने बताइएको छ ।
पूल उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता लिङदेनले गाउँपालिकालाई काठे पूलमुक्त बनाउने लक्ष्यअनुसार समयमै काम सम्पन्न भएकोमा खुसी व्यक्त गरे । उनले जनप्रतिनिधिमा इमानदार इच्छाशक्ति भए सीमित स्रोत–साधनमा पनि ठूला योजना सम्पन्न गर्न सकिन्छ भन्ने उदाहरण हल्दिबारीले प्रस्तुत गरेको बताए ।
प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र)–ले स्वागतसहित गाउँपालिकाको विकासका गतिविधि प्रस्तुत गरेको सो समारोहमा वडा नं. १ का पूर्व वडाध्यक्ष त्रिलोचन सापकोटाले राजनीतिक दलहरुको तर्फबाट शुभकामना मन्तव्य राखेका थिए ।
१ नं वडाध्यक्ष देवीबहादुर थापा, वडा नं ५ का वडाध्यक्ष खड्गबहादुर लावती, वडा नं ४ का वडाध्यक्ष सन्तकुमार थापालगायत कार्यपालिका सदस्य , वडासदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुसहित स्थानीयको बाक्लो उपस्थिति रहेको समारोहको सञ्चालन गाउँपालिकाका योजना शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए ।
योसँगै, हल्दिबारीको भुसुडी खोलामा यसै वर्ष अरु दुईवटा ठूला पक्की पूल निर्माण सम्पन्न भएको छ । ४ करोड ९६ लाख ८५ हजार ९ सय रूपैयाँमा ठेक्का सम्झौता भई निर्माण सम्पन्न भएका तीनवटा पूलमध्ये हल्दिबारी गाउँपालिका वडा नं ५ र १ जोड्ने भुतेनी खोलाको पक्की पूल आज उद्घाटन गरिएको हो । बाँकी दुईवटा पूल पनि चाँडै उद्घाटन गरिने गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनले जानकारी दिए ।
हल्दिबारीमा अब १५० भन्दा बढी काठे तथा बाँसे पूल विस्थापन गरी पक्की पूल निर्माण भएको छ । काठे पूल भएको भूतेनी खोलामा एक र भुसुडी खोलामा दुई गरी एकैसाथ ३ वटा पूल निर्माण सम्पन्न भएसँगै हल्दिबारी गाउँपालिका लगभग काठे पूलमुक्त बनेको बताइएको छ ।
वि. सं. २०७४ पछि हल्दिबारीमा १५० भन्दा बढी काठे तथा बाँसे पूल हटाएर पक्की पूल निर्माण भएको र अब हल्दिबारीमा एकाधबाहेक काठे र बाँसे पूल नरहेको गाउँपालिकाका अध्यक्ष लिङदेनले बताए ।
