झापामा कोशी प्रदेशस्तरीय बक्सिङ तथा कुस्ती प्रतियोगिता हुने भएको छ ।
आउँदो जेठको पहिलो सातादेखि प्रतियोगिता गर्ने गरी झापा जिल्ला खेलकुद विकास समितिले तयारी थालेको समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ले जानकारी दिए ।
जिल्ला खेलकुद विकास समिति झापाको हालै सम्पन्न बैठकले झापाको गौरादहमा जेठ ५ देखि ७ सम्म कोशी प्रदेशस्तरीय कुस्ती र अर्जुनधारामा जेठ ८ देखि १० गतेसम्म कोशी प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको र कोशी प्रदेशका सबै जिल्ला खेलकुद विकास समिति र वक्सिङ संघहरुलाई प्रतियोगिता सम्बन्धमा पत्राचार गरिएको समितिका सदस्य एवम् प्रवक्ता जगन दुर्वासा कार्कीले जानकारी दिए । कुस्तीमा खेलाडी र अफिसियल गरी करिब एकसय जना र बक्सिङमा खेलाडी र अफिसियल गरी करिब ११० जनाको सहभागिता रहने प्रतियोगिताको संयोजन कोशी प्रदेश खेलकुद विकास बोर्डले गर्ने बताइएको छ ।
स्वास्थ्य, सुरक्षा र आत्मरक्षाको दृष्टिकोणले खेलकुदको महत्वपूर्ण विधामा पर्ने वक्सिङ र कुस्तीप्रति युवाहरुको आकर्षण बढाउने र वक्सिङ खेललाई प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष भण्डारीले बताए ।
एथलेटिक्स प्रशिक्षक विष्टलाई विदाइ
एथलेटिक्स विधाको प्रशिक्षकको रुपमा झण्डै डेढ दशक झापा जिल्ला खेलकुद विकास समितिमा कार्यरत रही अनिवार्य अवकाश लिएकी नर्वदा विष्टलाई समितिले सम्मानसहित विदाइ गरेको छ ।
वि. सं. २०६९ सालदेखि झापा खेलकुद विकास समितिमा एथलेटिक्स प्रशिक्षकको रुपमा नियुक्ति लिई आफ्नो क्षमता र कुशलताबाट एथलेटिक्समा अब्बल खेलाडी उत्पादनमा सक्रिय भूमिका निर्वाह गर्दै यही बैशाख १५ गतेदेखि अवकाश लिएकी झापा दमक निवासी विष्टलाई समितिकै सभाहलमा आयोजित संक्षिप्त कार्यक्रमका बीच मायाको चिनोसहित सम्मानपत्र प्रदान गर्दै विदाइ गरिएको समितिका कार्यालय सचिव विष्णुकुमार नेम्बाङले जानकारी दिए ।
विष्टलाई अध्यक्ष भण्डारी, उपाध्यक्ष गंगा भुर्तेललगायत समितिका सदस्य, कर्मचारीहरुले खादा, माला पहिरयाएर सम्मानपत्र हस्तान्तरण गर्दै विदाइ गरेका थिए । सोक्रममा अध्यक्ष भण्डारीले विष्टको सेवानिवृत्त सफल जीवनको कामना गर्दै समितिले आवश्यकता अनुसार उनको एथलेटिक्स अनुभव र क्षमतालाई सधैँ उपयोग गर्ने बताए ।