झापा । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले ‘संस्कृति र सभ्यताको आधार, सखी बालबालिका समृद्ध भद्रपुर नगर’ भन्ने नाराका साथ विविध रचनात्मक कार्यक्रमहरुका साथ पाँचौँ बालमैत्री दिवस मनाएको छ ।
यस अवसरमा नगरपालिकाको नगर बाल सञ्जालले तीन दिवसीय कार्यक्रमहरु ऋायोजना गरेको थियो । पहिलो दिन पुस ५ शनिबार गते भद्रपुरमा कपडा संकलन कार्यक्रम र बालमैत्री सूचकहरु उल्लेख गरिएको स्टिकर टाँस्ने कार्यक्रम, पुस ६ गते सोमबार संकलित कपडा वितरण र स्टिकर टाँस्ने कार्यक्रम तथा आज पुस ७ गते मिनी म्यारथन, विभिन्न प्रतियोगिताका विजयीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण एवम् सीमानाका मेची पूलमा बालमैत्री बोर्ड स्थापना गरी यस वर्षको बालमैत्री दिवस सम्पन्न गरिएको सञ्जालका अध्यक्ष उत्सव पाण्डेले जानकारी दिए ।
आज विहान भद्रपुर २ को सगरमाथाबाट पुरुषको र भद्रपुर ३ ज्ञानेचोकबाट महिलाको मिनी म्याराथन गरिएको थियो । नगरपालिकाका कार्यवाहक अध्यक्ष रामबहादुर कँडेलले उद्घाटन गरेको म्याराथनअन्तर्गत पुरुषतर्फ गौरव भुजेल प्रथम भए । उनले सरगरमाथादेखि भद्रपुर नगरपालिकासम्मको दूरी ३० मिनेट १३ सेकेण्डमा पूरा गरेका थिए । त्यस्तै, ३१ मिनेट १२ सेकेण्डमा दूरी पूरा गरेका अनिश लिम्बू दोस्रो भए भने ३१ मिनेट २४ सेकेण्डमा दूरी पूरा गरेका प्रवेश राई तेस्रो र ३२ मिनेट ३७ सेकेण्डमा पूरा गरेका कुशल माझी सान्त्वना भए ।
महिलातर्फ ज्ञानेचोकदेखि भद्रपुर नगरपालिकासम्मको दूरी २८ मिनेट १० सेकेण्डमा पूरा गरेकी विन्दा राई प्रथम भइन् भने ३० मिनेट ३२ सेकेण्डमा दौड पूरा गरेकी गीता उराउ दोस्रो, ३१ मिनेट २१ सेकेण्डमा पूरा गरेकी एञ्जल घिमिरे तेस्रो र ३१ मिनेट २३ सेकेण्डमा पूरा गरेकी नूमा लिम्बू चौथो भए ।

विजेताहरुलाई नगरपालिकाको सभाहलमा आयोजित समारोहका बीच पुरस्कृत गर्दै प्रमाणपत्र वितरण गरिएको थियो । सोही समारोहमा कविता तथा वक्तृत्वकलामा विजयी हुने विद्यार्थीहरुलाई पनि नगद पुरस्कारसहित प्रमाणपत्र वितरण गरिएको थियो । विजेताहरुलाई प्रमुख अतिथि कँडेलले नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा नगर बाल सञ्जालका पूर्व अध्यक्ष आरोग्य तिम्सिना, बालमैत्री दिवसको संयोजन गरिरहेको नगरपालिका सामाजिक शाखा प्रमुख जीवनकला राउतलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
मिनी म्याराथनलाई व्यवस्थित ढंगले सञ्चालन गर्न जिल्ला खेलकुद विकास समिति झापाका एथलेटिक्स प्रशिक्षकहरु कुमार श्रेष्ठ, डम्बर कुँवर र गोपाल यादवले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
निवर्तमान नगरप्रमुख जीवनकुमार श्रेष्ठको अग्रसरतामा ‘बालबालिका सबैका प्यारा, बालमैत्री नगर हाम्रो अभिभारा’ भन्ने नाराका साथ बालमैत्री अभियान सञ्चालन गर्दै भद्रपुर नगरपालिकालाई २०७७ पुस ७ गते बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएको थियो । नगरपालिकाले बालमैत्रीसम्बन्धी ४७ वटा सूचक पूरा गरेपछि नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गरिएको थियो । भद्रपुर बालमैत्री नगरपालिका हुने कोशी प्रदेशको पहिलो नगरपालिका हो भने देशकै पाँचौँ नगरपालिका हो ।
नगरपालिकाले पुस ७ गतेका दिन बालमैत्री दिवस मनाउने गरी स्थानीय विदा दिँदै आएको छ ।
