समस्या समाधानमा पहल नभए भोलिदेखि झापाका चिया उद्योग बन्द हुने

झापा । नेपाली चिया निकासीमा भारतीय अवरोधका कारण उत्पन्न समस्या समाधानमा राज्यले पहल नगरे झापाका सम्पूर्ण चिया उद्योगहरू भोलि (बिहीबार)देखि बन्द हुने भएको छ ।
मे १२ तारिखमा भारतीय चिया बोर्ड र वाणिज्य विभागको संयुक्त बैठकले लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) का कारण नेपाली चिया निर्यातमा गम्भीर समस्या उत्पन्न भएको भन्दै समाधानका लागि पहल नभए बिहीबारदेखि झापाका सम्पूर्ण चिया उद्योग बन्द गर्न लागिएको नेपाल चिया उत्पादक संघले जनाएको छ ।

संघले आज बुधबार झापा उद्योग संघको सभाहलमा गरेको पत्रकार सम्मेलनमा संघका केन्द्रीय अध्यक्ष आदित्य पराजुलीले भारतीय अवरोधका कारण नेपाली चिया निकासीमा ठूलो संकट आएको उल्लेख गर्दै भारतीय पक्षको सर्तहरु पूरा गर्न नसकिने भएकोले बाध्य भएर उद्योग बन्द गर्ने निर्णयमा पुग्नुपरेको बताए ।

भारतीय चिया बोर्डले नयाँ एसओपी लागू गरेपछि नेपाली चिया निर्यातमा ठूलो अवरोध सिर्जना भएको बताउँदै उनले भने,‘विभिन्न प्रकारका गुणस्तर परीक्षण, जटिल प्रक्रिया तथा भण्डारणसम्बन्धी व्यवस्थाका कारण नेपालबाट भारततर्फ चिया निकासी हुन नसकेको डेढ महिना भइसक्यो ।’

भन्सार नाकाबाट निर्यात भइसकेको तयारी चियासमेत भारतीय खरिदकर्ताको गोदाममा राख्नुपर्ने हुन्छ । भारतीय चिया बोर्डले सो चियाको नमुना परीक्षण गराउने लैजाने र परीक्षण रिपोर्ट आउन २० देखि २५ दिनसम्म लगाउने गरेको कारणबाट गोदाममा थन्काइएको चियाको गुणस्तरमा समेत क्षति भइरहेको उनले बताए । ल्याब रिपोर्टमा चियाको गुणस्तर कमजोर देखिएको खण्डमा गोदामको चिया नष्ट गर्नुपर्ने जस्ता अव्यावहारिक नियमहरू भारतीय पक्षले थपिदिएकोले नेपाली चिया उद्योगमा संकट आइपरेको उनले बताए । ‘यस्तो अवस्थामा नेपाली चिया अब भारत पठाउन सकिँदैन’, उनले भने ।

चिया गोदाममा थन्किदा किसानलाई हरियो चिया पत्तीको मूल्य, विद्युत् महसुल तथा मूल्य अभिवृद्धि कर (भ्याट) लगायतका दायित्व समयमै भुक्तानी गर्न नसक्ने अवस्था सृजना भएको छ । सरकारले चिया क्षेत्रमा आइपरेको समस्याहरूको तत्काल समाधान नगरे चिया उद्योग समाप्त हुनसक्ने संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले बताए ।

संघले नेपाली चिया निर्यात प्रभावित भएको भन्दै समस्या समाधानका लागि पहल गरिदिन जिल्ला प्रशासन कार्यालय झापामार्फत नेपाल सरकारको ध्यानाकर्षण गराइएको छ । संघका अध्यक्ष आदित्य पराजुलीको नेतृत्वमा आज जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेलाई ज्ञापनपत्र बुझाएको संघका महासचिव शुक्र दाहालले जानकारी दिए । यसैगरी, प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रत्यक्ष रुपमा समस्या राख्न संघको प्रतिनिधिमण्डल आजै काठमाडौँ गएको बुझिएको छ ।

नेपालमा उत्पादित सिटिसी र अर्थोडक्स चियाको वार्षिक कारोबार करिब १२ देखि १४ अर्ब रुपैयाँबराबर रहेको छ । यसमा करिब ५ अर्ब रुपैयाँ बराबरको चिया भारत निर्यात हुन्छ भने बाँकी यीमध्ये केही नेपालमा खपत हुन्छ भने केही चिया तेस्रो मुलुक निकासी हुने गरेको छ
झापामा चिया उद्योगले करिब ६० हजार कर्मचारी तथा मजदूरलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको अध्यक्ष पराजुलीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *