झापा । पूर्वको स्वास्थ्य हब बन्दै गइरहेको झापाको विर्तामोडस्थित विर्तामोड आई हस्पिटलको भवनमा आजदेखि दाँत उपचारका लागि नयाँ क्लिनिक सञ्चालनमा ल्याइएको छ । नेशनल एडभान्स डेन्टल केयर बिर्तामोड नामक सो क्लिनिकको सेवा बिर्तामोड आई हस्पिटलको तेस्रो तलामा सुरु गरिएको हो ।
काठमाडौंको लाजिम्पाटमा १८ वर्षदेखि सफलापूर्वक सञ्चालित एडभान्स डेन्टल केयरले पहिलो ‘फ्रेन्चाइजी’का रुपमा विर्तामोडमा सेवा सुरु गरेको जनाइएको छ । डा. समीर अर्याल र डा. ज्योति अर्याल दम्पत्तीले काठमाडौंको क्लिनिकबाट गुणस्तरीय सेवा दिइरहेकाले मोफसलका सेवाग्राहीको सुविधाको लागि झापामा ‘फ्रेन्चाइजी’ सुरु गरिएको बताए ।
दाँत उपचारका लागि बजारमा धेरैवटा क्लिनिक सञ्चालनमा रहेको भए तापनि प्राविधिक रुपमा सुविधासम्पन्न पहिलो डेन्टल क्लिनिक नेशनल एडभान्स डेन्टल केयर बिर्तामोड रहेको दावी गरिएको छ ।
नेशनल एडभान्स डेन्टल केयर बिर्तामोडको मुख्यद्वारमा टाँगिएको रिवन काटेर पूर्व अर्थसचिव, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य, पूर्वराष्ट्रपति डा. रामबरण यादवका आर्थिक सल्लाहकार शम्भु शरणप्रसाद कायस्थले उद्घाटन गरेका थिए ।
क्लिनिकमा डा. अर्याल दम्पती, डा. आरती झालगायत ६ जनाको चिकित्सक–प्राविधिकको टोलीले सेवा प्रदान गर्ने बताइएको छ ।
हस्पिटलमा आँखाको जाँच गर्न आउने कतिपय विरामीमा दाँतको पनि समस्या हुने गरेको र उनीहरुले ‘दाँतको उपचार हुन्छ कि हुँदैन ? भनेर सोध्ने गरेको बताउँदै हस्पिटलका नेत्र विशेषज्ञ तथा व्यवस्थापक विनोद दाहालले सेवाग्रहीकै चाहना अनुसार एउटै छानामुनिबाट आँखा र दाँतको सेवा उपलब्ध गराउने उद्देश्यले नेशनल एडभान्स डेन्टल केयरसँगको साझेदारीमा दाँतको उपचार सेवा सुरु गरिएको बताए ।
आइतबार पहिलो दिन नै उल्लेख्य संख्यामा दाँतको परीक्षण तथा उपचार गरिएको पनि दाहालले बताए ।