झापा । मोफसलकै सर्वाधिक पुरस्कार राशि भएको प्रथम झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ । झापाको शिवसताक्षी नगरपालिकाको दूधे रंगशालामा सुरु भएको प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लवले विजयी सुरुआत गरेको छ ।
आज भएको पहिलो खेलमा चर्च ब्वाईज युनाइटेड फुटबल क्लबलाई ८–० गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । रेखा पौडेलले खेलको ३७ औँ, ८० औँ र दोस्रो हाफको इन्ज्युरी समयमा गोल गरिन् । त्यस्तै, मिनाले खेलको ५१ औँ, ६० औँ, ६२ औँ, ६८ औँ र ८१ औँ मिनेटमा गोल गरिन् । खेलको चौथो मिनेटमा पुलिसकी डिफेन्डर पूजा रानाले सेन्टर जोनबाट लिएको फ्रिकिक चर्चको गोल पोष्ट नजिकबाट बाहिरिएको थियो । खेलको सातौँ मिनेटमा पुलिसकी फरवार्ड रेखा पौडेलले ठुलो डिबक्सबाट गरेको प्रहार चर्चकी गोलकिपर करुणा बुढाथोकिले बचाएकी थिइन् । १५ औँ मिनेटमा चर्चले पहिलो अन टार्गेट सट लियो । २२ यार्डको दूरीबाट चर्चकी प्रतिक्षा मल्लको सट पुलिसकी गोलकिपर उषा नाथले सहजै कलेक्ट गरेकी थिइन् । १७ औँ मिनेटमा पुलिसकी फरवार्ड मिना देउबाले चर्चको डिफेन्डरलाई बिट गर्दै लिएको पावरफुल सट चर्चको पोष्ट नजिकैबाट बाहिरिएको थियो । २६ औँ मिनेटमा पुलिसले गोलको सुनौलो अवसर खेर फाल्यो । मिनाले चर्चकी गोलकिपर करुणालाई बिट गरे पनि सटलाई टार्गेटमा राख्न सकिनन् । ३५ औँ मिनेटमा चर्चले जवाफी अट्याक बुने पनि गोलको अवसर भने सदुपयोग गर्न सकेन । पुलिसको पेनाल्टी बक्सभित्र वर्षाले दिएको क्रसलाई प्रतिक्षा मल्लले फिनिस गर्न सकिनन् ।
३७ औँ मिनेटमा पुलिसले खेलमा खाता खोल्न सफल भयो । दुई राष्ट्रिय खेलाडी कम्बिनेसनमा पुलिसले सुन्दर गोल गर्यो । केही दिनअघि मात्रै राष्ट्रिय टोलीमा डेब्यु गरेकी मिनाको क्रसमा रेखा पौडेलले सुन्दर फिनिस गरिन् । दोस्रो हाफको सुरुवाती समयदेखि चर्चविरुद्ध दबाब बनाएको पुलिसले ५१ औँ मिनेटमा मिना देउबाको गोलमा अग्रता दोब्बर बनाउन सफल भयो । चर्चको डिफेन्डर र गोलकिपरबीच राम्रो तालमेल नहुँदा मिनाले त्यसको फाइदा उठाइन् । ५९ औँ मिनेटमा मिनाले सुन्दर फिनिस गर्दै व्यक्तिगत दोस्रो तथा टोलीको तेस्रो गोल गरिन् । उनले सम्झना लावतीको पासलाई गोलमा परिणत गरिन् । त्यसको पाँच मिनेट बित्न नपाउँदै मिनाले अर्को गोल थप्दै आफ्नो ह्याट्रिक पूरा गरिन् । पुलिसको लंगभली क्रसलाई चर्चकी गोलकिपर करुणाले राम्रो कलेक्ट गर्न नसक्दा मिनाले त्यसको फाइदा उठाउँदै टोलीलाई ४–० गोलको अग्रता दिलाउन सफल भइन् । ६८ औँ मिनेटमा रेखाको सुन्दर क्रसमा मिनाले आफ्नो चौथो गोल गरिन् । ८० औँ मिनेटमा रेखाले ३० यार्डको लामो दूरीबाट गरेको सटले सिधै चर्चको जाली चुम्न पुग्यो । रेखाको उक्त सटमा चर्चकी गोलकिपरले कुनै मौका पाइनन् । त्यसको तीन मिनेट बित्न नपाउँदै मिनाले टोलीका लागि सातौँ तथा व्यक्तिगत पाँचौँ गोल पूरा गरिन् । खेलको अन्तिम समयमा रेखाले गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गर्दा टोलीलाई ८–० गोलको फराकिलो अन्तरको जित सुरक्षित गराइन् ।
चर्च ब्वाईज युनाइटेडविरूद्ध ५ गोल गरेकी पुलिसकी मिना वुमन अफ दि म्याच भइन् । उनले नगद १५ हजार र ट्रफी पाइन् । उनलाई प्रमुख अतिथि शिवसताक्षी नगरप्रमुख मेगाहाङ थोप्रा, आयोजक झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा र ग्यारेज क्याफेका सञ्चालक लुका राईले ट्रफी प्रदान गरेका थिए ।
भोलिको खेल नेपाल एपिएफ फुटबल क्लबविरुद्ध भारत सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबबीच हुने आयोजक प्रथम महिला झापा गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए ।
