झापा इनर्जीको सातौं वार्षिक साधारणसभा सम्पन्न

झापा । झापाको पहिलो र एक मात्र सौर्य उर्जा उत्पादक झापा इनर्जी लिमिटेड कम्पनीको सातौं वार्षिक साधारणसभा आज विर्तामोडमा सम्पन्न भएको छ । २०७५ साल असोज १६ गते स्थापना भएको कम्पनीका अध्यक्ष लालप्रसाद साँवा लिम्बूको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।

झापाको शिवसताक्षी–४ स्थित बुलुचोकमा १० मेगावाटको सौर्य उर्जा निर्माण कार्यका लागि २०७८ मंसिर १२ गते झापा इनर्जी र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिद–बिक्री गर्ने सम्झौता भएको थियो ।

झापा इनर्जीले शिवसताक्षी–४ मा १० बिघा १७ कठ्ठा १८.५ धुर जग्गा र झापा इनर्जीको शतप्रतिशत स्वामित्व रहेको झापा एग्रो इन्डिष्ट्रिज प्रालिको नाममा रहेको १० बिगा ११ कठ्ठा १३ धुर गरी जम्मा २१ बिघा ११ कठ्ठा ९।५ धुर जग्गा खरिद गरेर आयोजना निर्माण कार्य शुरु गरेको थियो ।

२०८० माघ १० गतेदेखि नेपाल विद्युत प्राधिकरणबाट व्यावसायिक उत्पादन शुरु गरी उत्पादित विद्युत बिक्री गर्दै आइरहेको प्रवन्ध सञ्चालक सुवास भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार आयोजनाबाट उत्पादन भएको विद्युत ३३ केभी सिङ्गल सर्किट प्रशारण लाइनमार्फत दमक वितरण केन्द्रअन्तरगतको बुलुचोक शव स्टेशनमा लगी राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ ।

आयोजनाले आर्थिक वर्ष ०८१÷०८२ मा १ करोड २४ लाख ८५ हजार ६० युनिट विद्युत नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरी ९ करोड १० लाख ५९ हजार ४७५ रुपैयाँ बराबरको आम्दानी गरेको छ । त्यसैगरी २०८२ साउन १ गतेदेखि मंसिर मसान्तसम्ममा ६५ लाख २१ हजार २६० युनिट विद्युत उत्पादन गरी ४ करोड ७० लाख ९३ हजार ४७९ रुपैयाँ आम्दानी गर्न सफल भएको अध्यक्ष साँवाद्वारा सभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

बिर्तामोडमा कार्यालय रहेको झापा इनर्जीले पहिलो पटक ९ लाख ५० हजार ४७५ कित्ता आर्इपीओ निष्काशन गरेको थियो ।त्यसमध्ये ३ लाख ८० हजार १९० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय, विदेशमा भएकाका लागि ५७ हजार २९ कित्ता, ११ हजार ४०६ कित्ता कम्पनीका कर्मचारीलाई र बाँकी ४ लाख ७३ हजार ३३६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको अध्यक्ष साँवाले बताए ।

कम्पनीकी सञ्चालक तथा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईले स्वागतसहित औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा राष्ट्रिय सभा सदस्य तथा पूर्व मन्त्री देवेन्द्र दाहालले शुभकामना मन्तव्य राखेका थिए । सञ्चालन प्रवन्ध सञ्चालक भट्टराईले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *