झापा । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा शुक्रबार राति ९ बजे रनवेबाट चिप्लिएर बुद्ध एयरको विमान दुर्घटनाग्रस्त भएको छ । रनवेबाट चिप्लिएर करिब ३०० मिटर टाढा घाँसे मैदानमा पुगेको बुद्ध एयरको जहाजमा सवार सबै यात्रु सकुशल रहेका छन्।
अवतरण गर्ने क्रममा जहाज चालकको नियन्त्रण बाहिर पुगेको थियो। जहाजमा ४ जना क्रु मेम्बर र ५१ जना यात्रु सवार थिए। भद्रपुर विमानस्थलमा अवतरण गर्नेक्रममा जहाज रनवेमा चिप्लिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले बताए। उनका अनुसार सबै यात्रुको सकुशल उद्धार गरिएको छ। प्रहरी कार्यालय झापाका एसपी राजन लिम्बुका अनुसार बुद्ध एयरको विमान रनवेको बीच भागमा अवतरण हुँदा चिप्लिएर घाँसे मैदानमा पुगेको हो ।
यात्रुहरू सबै सकुशल छन् । केहीको हातखुट्टामा सामान्य चोटपटक लागेको छ । प्राथमिक उपचारपश्चात् उनीहरू फर्किसकेको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खडकाले जानकारी दिए । अहिले पनि घटनास्थलमा प्रहरी तैनाथ छन् ।
एन–एमएफ कलसाइन भएको एटीआर ७२ को विमान रनवेबाट चिप्लिएर घाँसे मैदानमा पुगेको हो। बुद्ध एयरको दुर्घटनापछि काठमाडौँ उड्न लागेको यति एयरको जहाज समेत भद्रपुर विमानस्थलमा अड्किएको छ। घटना लगत्तै बुद्ध एयरले सूचना जारी गरेर प्राविधिक टोली पठाउने तयारी गरेको जनाएको छ।
जहाजमा सवार पूर्व मन्त्री अग्नि खरेलले नयाँ जीवन पाएको प्रतिक्रिया दिएका छन् । उनले जहाज रनवेदेखि चिप्लिएर ३०० मिटर बाहिर घाँसे मैदानमा पुगेको थियो ।
