कोशी पाथीभरा इण्डो नेपाल टी–२० च्याम्पियनसीपको उपाधि आयोजक भद्रपुरलाई

झापा । झापाको भद्रपुरमा पहिलोपटक आयोजित कोशी–पाथीभरा इण्डो–नेपाल टी–२० च्याम्पियनसीपको उपाधि आयोजक भद्रपुर क्रिकेट क्लवले जितेको छ ।
बिहीबार सम्पन्न फाइनल खेलमा भारतको राइनोल्याण्ड क्रिकेट क्लव आसामलाई ४ विकेटले पराजित गर्दै भद्रपुरले उपाधिमा कब्जा जमाएको हो ।
उपाधिसँगै भद्रपुरले नगद ५ लाख पुरस्कार प्राप्त गरेको छ भने उपविजेता आसामले नगद ३ लाख प्राप्त गरेको प्रतियोगिताका संयोजक गौरव सुब्बा ‘मनोज’ले जानकारी दिए ।
भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा उल्लेख्य दर्शकका माझ दुबै टिमले उत्कृष्ट खेल प्रदर्शन गरे पनि अन्ततः भद्रपुरले बाजी मारेको छ ।
टस जितेर भद्रपुरले पहिलो फिल्डिङ रोजेपछि ब्याटिङका लागि मैदानमा उत्रिएको आसामको सुरुआत राम्रो हुन सकेन । दोस्रो ओभरमा टिमको स्कोर ५ रन हुँदा गोकुल शर्मालाई गुमाएको आसाम त्यसपछि खेलमा उल्लेखनीय ढंगले फर्किन सकेन र लगातार अन्तरालमा विकेट गुमाउँदै १७.३ ओभरमा सबै विकेट गुमाएर ८९ रनमा समेटियो । आसामका तर्फबाट रोहित सेनले १५ बलमा सर्वाधिक २४ रन बनाए भने कप्तान निबिर डेकाले १५ रन र मो. हबिबुल्लाहले व्यक्तिगत १२ रन बनाउनेबाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् । आसामलाई सस्तैमा समेट्न भद्रपुरका तर्फबाट भुवन कार्की र विपिनकुमार महतोले समान ३ विकेट लिए भने सिद्धार्थ कुमाल, दिपक बोहोरा र दिनेश अधिकारीको खातामा १–१ विकेट पर्यो ।

जवाफमा भद्रपुरको पनि ब्याटिङ सुरुआत राम्रो हुन सकेन । दोस्रो ओभरको पहिलो बलमै दिपक बोहोरालाई व्यक्तिगत १ रनमा गुमाएको भद्रपुरको पनि लगातार अन्तरालमा विकेट झर्दै ३० रन हुँदा ५ विकेट झरिसकेको थियो । त्यसपछि भुवन कार्की र मुहमद आदिल आलमले पारीलाई सम्हाल्दै ७७ रनसम्म पुर्याए । ७७ रनमा आदिलको विकेट पतन भयो । उनले सर्वाधिक ३९ रनको योगदान दिए । अन्त्यमा भुवन कार्की र श्रवण यादवले नटआउट रहँदै टिमलाई जीत दिलाए । बलिङमा आसामका तर्फबाट गोकुल शर्मा र प्राञ्जल भारालीले समान २–२ विकेट लिए भने तपनकुमार शर्मा र अनुप सोनारले १–१ विकेट लिए ।

खेलको म्यान अफ द म्याच विजेता टिमका भुवन कार्की भए । उनले नगद ११ हजार पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा बेस्ट फिल्डर भद्रपुरका भुवन कार्की, इमर्जिङ प्लेयर आसामका निबिर डेका र बेस्ट ब्याटर लखनउका रमन कादयान भए । उनीहरुले नगद २५ हजार पुरस्कार प्राप्त गरे । प्लेयर अफ द टुर्नामेन्ट गोकुल शर्मा भए । उनले ५१ हजार नगद प्राप्त गरेको आयोजक क्लवका महासचिव वसन्त पोखरेलले जानकारी दिए ।

विजेता टिम तथा खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि कोशी प्रदेशका पूर्व मन्त्री उद्धव थापा, विशिष्ट अतिथि कोशी प्रदेशसभा सदस्य छविलाल चुडाल, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, गोर्खा टि इण्डष्ट्रिज इलामका सञ्चालक उदय चापागाईं, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, आयोजक क्लवका अध्यक्ष आदित्य पराजुलीलगायतले पुरस्कार वितरण गरेको क्लवका सचिव केदार महतले जानकारी दिए ।

कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्षसमेतलाई जोडेर यही माघ २१ ग्तेदेखि आयोजना गरिएको प्रतियोगिता राष्ट्रिय–अन्तर्राष्ट्रिय चर्चा बटुल्दै सफलतापूर्वक सम्पन्न भएको प्रतियोगिताका संयोजक एवम् भद्रपुर नगरपालिका, वडा नं ८ का वडाध्यक्ष गौरव सुब्बा ‘मनोज’ले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *