१६ औँ झापा जिल्लास्तरीय राष्ट्रपति रनिङशील्ड उपाधि अर्जुनधारा नगरपालिकालाई

झापा । १६ औं झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ ।

झापा जिल्ला खेलकुद विकास समितिको आयोजना तथा गौरादह नगरपालिकाको संयोजनमा गौरादहस्थित जनता माध्यमिक विद्यालय परिसरमा तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा जिल्लाको १४ वटा पालिकालाई पछि पार्दै अर्जुनधारा नगरपालिकाले २२ स्वर्ण ५ रजत र १४ कास्य पदकसहित उपाधि हात पारेको हो । अर्जुनधारा नगरपालिकाले राष्ट्रपति रनिङशील्डको उपाधि जितेको यो चौथोपटक हो ।

यसैगरी, दमक नगरपालिका १४ स्वर्ण १४ रजत र ५ कास्य पदकसहित दोस्रो र विर्तामोड नगरपालिका ७ स्वर्ण १० रजत ८ कास्य पदकसहित तेस्रो भएको झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख विष्णुकुमार नेम्बाङले जानकारी दिए । प्रतियोगितामा समान ४÷४ स्वर्ण पदक जितेका बाहदशी गाउँपालिकाका सुबोध थापा र बिकी राजवंशी उत्कृष्ट खेलाडी घोषित भए ।

झापाका १५ वटा पालिकामा विद्यालयस्तरीय प्रतियोगिताबाट छनोट भएर आएका १८ वर्षमुनिका खेलाडी विद्यार्थीले १२० स्वर्ण, १२० रजत र २४० कास्य पदकका लागि भलिबल, कबड्डी, एथलेटिक्स, करातेलगायतका ६ विधामा प्रतिस्पर्धा गरेका थिए ।

जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’को अध्यक्षतामा हिजो साँझ आयोजित समापन समारोहमा विजेता पालिकालाई शील्ड तथा र विजेता खेलाडीहरुलाई प्रमुख अतिथि गौरादह नगरपालिकाका नगरप्रमुख छत्रपति सुवेदी, अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीलगायते प्रदान गरेका थिए ।

सो अवसरमा १६ औँ झापा जिल्लास्तरीय राष्ट्रपति रनिङशील्ड खेलकुद प्रतियोगिताका व्यवस्थापनमा महत्वपूर्ण निर्वाह गर्दै प्रतियोगिता सफल बनाउन योगदान पुर्याएकोमा आयोजक झापा जिल्ला खेलकुद विकास समितिले गौरादह नगरपालिकालाई कदरपत्र प्रदान गरेको थियो । समितिका अध्यक्ष भण्डारीले नगरप्रमुख सुवेदीलाई कदरपत्र हस्तान्तरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *