भद्रपुर नगरपालिकाबाट बाढीपीडितका लागि ११ लाख सहयोग, विर्तामोडले ५ लाख सहयोग गर्ने

झापा । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा दीर्घकालीन पुनःस्थापनाका लागि ११ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार रसुवा, धादिङ, नुवाकोटलगायत जिल्लामा बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्मा परेका नागरिकको सहयोगका लागि रकम उपलब्ध गराउने निर्णय गरिएको हो ।

नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूबाट रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख रुपैयाँ जम्मा गरिने नगर प्रमुख गणेश पोखरेलले जानकारी दिए ।

नगरपालिकाले बाढीमा ज्यान गुमाएकाहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । साथै, बेपत्ता नागरिकको शीघ्र खोजी तथा उद्धार र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

यसैगरी, झापाको विर्तामोड नगरपालिकाले ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज बसेको नगर कार्यपालिकाको बैठकले बाढी प्रभावित परिवारको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

बैठकमा नगरप्रमुख प्रसाईले बाढीका कारण रसुवा टिमुरे बजारदेखि स्याफ्रुबेसी, नुवाकोटको बेत्रावती, त्रिशूलीलगायतका क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आफू स्तब्ध भएको बताइन् । उनले उद्धार तथा राहत कार्यमा सरकारलाई आवश्यक सहयोग गर्न तथा मानवीय सेवामा जुट्न सम्पूर्ण नागरिक, संघ–संस्था र निजी क्षेत्रलाई अपिलसमेत गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *