विर्तामोडमा विज्ञान तथा प्रविधि प्रदर्शनी सुरु ः पूर्व राष्ट्रपति भण्डारीद्वारा उद्घाटन

झापा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सबै क्षेत्रमा विज्ञान तथा प्रविधि निर्णायक बन्दै गएको बताएकी छिन् । झापाको बिर्तामोडमा आजदेखि सुरु कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्दै पूर्व राष्ट्रपति भण्डारीले वैज्ञानिक दृष्टिकोणबाट समृद्धि हासिल गर्न सकिने बताएकी हुन् ।

नेकपा एमाले कोशी प्रदेशको विज्ञान तथा प्रविधि विभागले आयोजना गरेको प्रदर्शनीमा बोल्दै पूर्व राष्ट्रपति भण्डारीले परिवर्तनको आधार नै विज्ञान प्रविधि भएकाले सामाजिक, राजनीतिक,नीजि क्षेत्र र राज्य पक्षले यसमा लगानीलाई प्राथमिकता दिनुपर्ने बताइन् ।

पूर्व राष्ट्रपति भण्डारीले नेपाली विद्यार्थीहरुलाई विज्ञान तथा प्रविधिमा दक्ष बनाएर विश्वस्तरीय प्रतिस्पर्धी बनाउन आवश्यक रहेको भन्दै विज्ञान प्रदर्शनी जस्ता कार्यक्रमहरु आयोजना गर्न जरुरी रहेको धारणा व्यक्त गरिन् । ‘विज्ञान तथा प्रविधिमा दक्ष बनाउने हामी सबैको दायित्व हो, उनले भनिन्– विज्ञानलाई प्रयोगशालामा मात्र सिमित गर्न हुदैन, यसलाई विकाससँग जोडेर लैजानुपर्छ ।’

बिर्तामोडस्थित देवी माविको प्राङगणमा जेठ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितात्मक विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन समारोहमा नेकपा एमाले कोशी प्रदेशका इञ्चार्ज शेरधन राई, कोशी प्रदेशका सचिव राजकुमार भण्डारी, देवी माविकी प्रधानाध्यापक अम्बिका श्रेष्ठलगायतले सम्बोधन गरे । कार्यक्रममा पार्टीका विभिन्न तहका नेतृत्वहरुको सहभागिता थियो ।

प्रदर्शनीमा प्रथम हुने विद्यालयले चार लाख, दोस्रो हुनेले तीन लाख, तेस्रो हुनेले दुई लाख र सान्त्वना हुनेले एक लाख नगद पुरस्कार प्राप्त गर्ने विभागका प्रमुख गणेश पोखरलले जानकारी दिए। प्रदर्शनीमा १२ जिल्लाका ७० वटा विद्यालय सहभागी भएका छन् । विद्यालयहरुले स्टलमार्फत विज्ञान प्रदर्शनी गरिरहेका छन् भने विद्यार्थी र सहभागी शैक्षिक सरोकारवाला, पार्टी नेतृत्वहरुले अवलोकन गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds