भद्रपुरमा कोशी पाथीभरा इण्डो नेपाल टी–२० च्याम्पियनसीप आजदेखि सुरु ः मुख्यमन्त्री कार्कीद्वारा उद्घाटन

झापा । झापाको सदरमुकाम भद्रपुरमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको कोशी पाथीभरा इण्डो नेपाल टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

भद्रपुर क्रिकेट क्लवको आयोजनामा भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा आजदेखि सुरु भएको प्रतियोगिताको एक समारोहका बीच कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरे । उनले पानसमा दीप प्रज्वलनपछि मैदानमा ब्याटिङ गर्दै प्रतियोगिता उद्घाटन गरेका हुन् ।

भद्रपुर क्रिकेट क्लवका अध्यक्ष आदित्य पराजुलीको अध्यक्षतामा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मुख्यमन्त्री कार्कीले खेलकुद क्षेत्रलाई अघि बढाउन कोशी प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै मेची क्याम्पसको क्रिकेट मैदानलाई थप विकसित गर्न कोशी प्रदेश सरकारले लगानी गर्ने बताए ।

 

संघका सचिव केदार महतले सञ्चालन र प्रतियोगिताका संयोजक तथा भद्रपुर नगरपालिका वडा नं ८ का वडाध्यक्ष गौरब सुब्बा ‘मनोज’ले स्वागतसहित औचित्यमाथि प्रकाश पारेको समारोहमा विभिन्न झाँकीहरु पनि प्रस्तुत गरिएको थियो ।

प्रतियोगिताको पहिलो खेल भारतको राइनोल्याण्ड क्रिकेट एकाडेमी आसाम र जीएचसीए काठमाडौँबीच सुरु भएको छ ।

यस प्रतियोगितामा नेपालका चार र भारतका चार गरी आठवटा टिमको सहभागिता रहेको छ । टिमलाई दुई समूहमा विभाजन गरिएको छ । अंकका आधारमा सेमिफाइनल खेल्ने टिमको टुंगो लाग्ने आयोजक भद्रपुर क्रिकेट क्लवका महासचिव वसन्त पोखरेलले जानकारी दिए । प्रतियोगिता माघ २९ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेता टिमले पाँच लाख नगदसहित शील्ड प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद तीन लाखसहित शील्ड प्राप्त गर्ने पोखरेलले बताए ।
अध्यक्ष पराजुलीले कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्षसमेतलाई जोडेर यो प्रतियोगिता आयोजना गरिएको बताएका छन् ।

प्रतियोगितामा नेपालका तर्फबाट आयोजक भद्रपुर क्रिकेट क्लव, काठमाडौं, सुदूरपश्चिम र गण्डकी तथा भारतका तर्फबाट दिल्ली, लखनउ, आसाम र सिक्किमको सहभागिता रहेको अध्यक्ष पराजुलीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *