झापा । नेपालमा ओझेलमा परेको हक्की खेललाई उजागर गर्दै प्रवद्र्धन गर्ने उद्देश्यले झापाको भद्रपुरमा पहिलो पटक आयोजना गरिएको अन्तर्राष्ट्रियस्तरको हक्की प्रतियोगिताका लागि चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह मुख्य प्रायोजक बनेको छ ।
भद्रपुर–९ पुहाँतुबारीस्थित पुहाँतु जनज्योति माविको खेल मैदानमा आयोजना हुने प्रतियोगितामा रु. ५ लाख उपलब्ध गराउने गरी भद्रपुर ९ स्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहसँग मुख्य प्रायोजक रहने गरी सम्झौता भएको आयोजक भद्रपुर नगर हक्की संघले जनाएको छ ।
समूहका अध्यक्ष अनुज खतिवडाले संस्थाको वार्षिक योजनामा समावेश गरिएको खेलकुद कार्यक्रमको शीर्षकबाट प्रतियोगितालाई सहायेग गरिएको र मुख्य प्रायोजकका रुपमा समूहले भूमिका निर्वाह गर्ने जानकारी दिए ।
भारतका तीन, बंगलादेशको एक, विभागीयसमेत नेपालका सात टिम र आयोजक एक टिम गरी १२ टिमको सहभागितामा फाइभ–एस मोडलमा आयोजना हुने प्रतियोगिताका लागि भद्रपुर नगरपालिकासमेत विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्था तथा प्रतिष्ठानहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएको र विभिन्न क्षेत्रबाट आर्थिक सहयोग प्राप्त हुन थालेको संघका अध्यक्ष सरोज वस्नेतले जानकारी दिए ।
प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ नगदसहित शील्ड तथा मेडल प्राप्त गर्नेछ भने उपविजेता टिमलाई नगद एक लाखसहित शील्ड तथा मेडल प्रदान गरिने संघले जनाएको छ । विजेताको पुरस्कार रकम ओम साई पाथिभरा हस्पिटल भद्रपुरका अध्यक्ष दिपक पोखरेलले सौजन्य गरेका छन् भने दोस्रो पुरस्कार झापा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष तथा राप्रपा भद्रपुर नगर समितिका अध्यक्ष राजकुमार राईले सौजन्य गरेका छन् ।
आगामी कात्तिक १३ देखि १५ गतेसम्म प्रतियोगिता आयोजना गर्ने गरी तयारी अघि बढाइएको हक्की संघका कोशी प्रदेश सदस्य खगेन्द्र ढुंगानाले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्न करिब ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
बढ्दो लागुऔषधको दुव्र्यसनबाट युवाहरुलाई जोगाउँदै खेलकुदमा समर्पित गराउने उद्देश्यसमेत जोडिएको यो प्रतियोगिताले हक्की खेलप्रति आमदर्शक खेलकुदप्रेमीहरुको ध्यान आकर्षित भई हक्की प्रवद्र्धनमा सहयोग पुग्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको संघको सल्लाहकार समितिका संयोजक अनिल ढुंगानाले जानकारी दिए ।
यसैबीच, आइतबार नेपाल हक्की संघले पत्रकार सम्मलेन गरी प्रतियोगिताको तयारी बारे जानकारी गराएको छ । भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, नेपाल हक्की संघकी केन्द्रीय महासचिव स’वर्णा श्रेष्ठ, वडा नं ९ का वडाध्यक्ष राम दाहाललगायतको विशेष उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका सन्दर्भमा हालसम्म भएका क्रियाकलाप आगामी कार्ययोजना बारे जानकारी गराइएको थियो ।

