झापा । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव विप्लव घोषले नेपालमा ओझेलमा परेको हक्की खेललाई उजागर गर्दै प्रवद्र्धन गर्ने उद्देश्यले झापाको भद्रपुरमा पहिलो पटक आयोजना हुन लागेको अन्तर्राष्ट्रियस्तरको हक्की प्रतियोगिताको तयारी र व्यवस्थापनका बारे चासोपूर्वक जानकारी लिएका छन् ।
१० औँ राष्ट्रिय खेलकुदअन्तर्गत प्रदेशस्तरीय छनोट प्रतियोगिताको सन्दर्भमा शुक्रबार झापा आएका सदस्य सचिव घोषले अपरान्ह भद्रपुर ९ स्थित हक्की प्रतियोगिता स्थल तथा हक्की मैदानको अवलोकन गर्दै तयारी बारे जानकारी लिएका हुन् ।
सो अवसरमा सदस्य सचिव घोषले ग्रामीण क्षेत्रमा हक्की खेलको विकास र प्रवद्र्धनमा युवाले देखाएको सक्रियता प्रशंसनीय रहेको बताउँदै कोशी प्रदेशमा हक्की खेलाई प्रोत्साहित गरिने बताएका थिए ।
सदस्य सचिव घोषले यो प्रतियोगिताका लागि पनि बोर्डले बजेटको परिधिभित्र रहेर सहयोग गर्ने प्रतिवद्धता जनाएको भद्रपुर नगर हक्की संघका प्रमुख सल्लाहकार अनिल ढ्ंगानाले जानकारी दिए । उनका अनुसार सदस्य सचिव घोषले प्रस्ताव लिएर बोर्डको कार्यालयमा आउन भनेका छन् ।

भद्रपुर नगर हक्की संघको आयोजनामा यही कात्तिक १३ देखि १५ गतेसम्म सञ्चालन हुुने अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताको तयारी र व्यवस्थापकीय पक्षको अवलोकनका लागि सदस्य सचिव घोषका साथ झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शेखर कँडेल, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाललगायत खेल क्षेत्रका प्रवुद्ध व्यक्तित्वहरु हक्की मैदानमा पुगेका थिए ।
चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह मुख्य प्रायोजक रहेको प्रतियोगितामा भारतका तीन, बंगलादेशको एक, विभागीयसमेत नेपालका सात टिम र आयोजक एक टिम गरी १२ टिमको सहभागितामा रहनेछ । फाइभ–एस मोडलमा आयोजना हुने प्रतियोगिताका खेलहरु भद्रपुर–९ पुहाँतुबारीस्थित पुहाँतु जनज्योति माविको खेल मैदानमा संघका अध्यक्ष सरोज वस्नेतले जानकारी दिए ।
प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ नगदसहित शील्ड तथा मेडल प्राप्त गर्नेछ भने उपविजेता टिमलाई नगद एक लाखसहित शील्ड तथा मेडल प्रदान गरिने संघले जनाएको छ ।
प्रतियोगिताको तयारी तीव्र रुपमा अघि बढाइएको हक्की संघका कोशी प्रदेश सदस्य खगेन्द्र ढुंगानाले जानकारी दिए । उनका अनुसार प्रतियोगिताका लागि आवश्यक सामग्री जुटाइसकिएको छ भने मैदान मर्मत–सम्भारको काम पनि भइरहेको छ । यसैगरी मञ्च निर्माण र दर्शकका लागि बाँसे प्यरापिट निर्माण पनि भइरहेको छ ।
प्रतियोगिता सम्पन्न गर्न करिब २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । विजेताको नगद पुरस्कार ओम साई पाथिभरा हस्पिटल भद्रपुरका अध्यक्ष दिपक पोखरेलले सौजन्य गरेका छन् भने उपविजेता पुरस्कार झापा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष राजकुमार राईले सौजन्य गरेको आयोजकले जनाएको छ ।
बढ्दो लागुऔषधको दुव्र्यसनबाट युवाहरुलाई जोगाउँदै खेलकुदमा समर्पित गराउने उद्देश्यसमेत जोडिएको यो प्रतियोगिताले हक्की खेलप्रति आमदर्शक खेलकुदप्रेमीहरुको ध्यान आकर्षित भई हक्की प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको संघका अध्यक्ष वस्नेतको भनाइ छ ।

