झापा । प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा देशकै सर्वाधिक चासो र चर्चाको क्षेत्र रहेको झापा निर्वाचन क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) भारी मतान्तरले विजयी भएका छन् ।
सो क्षेत्रमा बालेनले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई ४९ हजार ५१४ मतले पराजित गरेका हन् ।
मतगणनाको अन्तिम परिणाम अनुसार शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दा ओलीले १८ हजार ७३४ मत मात्र प्राप्त गरेका छन् ।
सो क्षेत्रमा अन्य उम्मेद्वारहरुमा श्रम संस्कृति पार्टीका समिर तामाङले ९ हजार २३३ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी मन्धरा चिमरियाले १ हजार ८२१ मत प्राप्त गरेका छन् ।
बालेन संभवतः देशकै सर्वाधिक मत हासिल गर्ने र सर्वाधिक मतान्तरले विजयी हुने उम्मेद्वार बनेका छन् ।
भ्mापा क्षेत्र नं ५ मा केपी शर्मा ओलीको यो दोस्रो हार हो । यसअघि २०६४ मा भएको संविधानसभा निर्वाचनमा ओली पराजित भएका थिए ।
१ लाख ६३ हजार ३७९ मतदाता रहेको झापा ५ मा १ लाख ६ हजार ३७२ मत खसेको निर्वाचन अधिकृतको कार्यालय झापा ५ ले जनाएको छ ।
विजयी शाहलाई निर्वाचित भएको घोषणासँगै विजेताको प्रमाणपत्र प्रदान गरिएको पनि कार्यालयले जनाएको छ ।
