झापा । झापाको भद्रपुर–९ स्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको २७ औं वार्षिक साधारणसभा आयतबारज सम्पन्न भएको छ ।
समूहका अध्यक्ष अनुज खतिवडाको अध्यक्षतामा आयोजित साधारणसभाको उद्घाटन भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले व्यानर वाचन र विरुवामा पानी सिञ्चित गरेर गरेका थिए ।
साधारणसभामा संस्थाको वार्षिक गतिविधि तथा कार्ययोजनासहितको प्रतिवेदन प्रस्तुत गर्दै समूहका अध्यक्ष खतिवडाले आगामी वर्षका लागि नीति तथा कार्ययोजना प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सचिव कमला थापाले साङ्गठनिक प्रतिवेदन तथा कोषाध्यक्ष मञ्जु खतिवडा अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि पोखरेलले वन समितिले उपभोक्ताको हितमा गर्ने काममा नगरपालिकाको पूर्ण सहयोग रहने जानकारी दिँदै वन क्षेत्रमै पर्ने चन्द्रगढलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नका लागि सकेसम्म प्रयास गरिरहेको बताए । उनले आफ्नै पहलमा यस आर्थिक वर्षमा चन्द्रगढको वृत्ति विकास तथा उन्नतिको लागि संघीय सरकारबाट २ करोड रुपैयाँ अनुदान रकम ल्याउन सफल भएको समेत जानकारी दिए ।
कार्यक्रममा नगर उपप्रमुख राधा कार्की, ब्रदर्स युनाइटेड क्लबका अध्यक्ष राजेश निरौला, सामुदायिक वन उपभोक्ता महासंघ झापा अध्यक्ष वेदप्रकाश भण्डारी, चन्द्रगढी दोस्रो खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका उपाध्यक्ष घनश्याम अधिकारीलगायतले शुभकामना मन्तव्य राख्दै वन समूहभित्र देखिएको असमझदारी अन्त्य गरी उपभोक्तालाई दिइने सुविधा सहज बनाउन परिषद् सदस्यहरू जिम्मेवार निर्णयमा जान आग्रहसमेत गरेका थिए ।
कार्यक्रममा समूहमा आबद्ध भएर निरन्तर वन संरक्षणमा सहयोग गर्ने कपिलमणि दाहाल, स्व. पुहाँतुलाल चौधरी, फुटबल खेलाडी कर्ण लिम्बू र बक्सिङ खेलाडी नारिका राईलाई दोसल्ला ओढाएर प्रशंसापत्रले सम्मान गरिएको थियो ।
कार्यक्रमको सञ्ंचालन सचिव कमला थापा र स्वागत उपाध्यक्ष श्रीमननारायण पौडेलले गरेका थिए ।
परिषद् भेलामार्फत साधारणसभा सम्पन्न गरिएको थियो ।

