झापाका सात अव्यवस्थित परिवारलाई जग्गा धनी प्रमाणपूर्जा वितरण

झापा । सबैतिर बडादशैँको खुशीयाली छाइरहेका बेला झापा, अर्जुनधारा नगरपालिका, वडा नं ११ का सात परिवारमा अर्को खुशी थपिएको छ ।
वर्षैँदेखि अव्यवस्थित ढंगले बसोबास गर्दै आएका ती परिवारले आज आफू बसोबास गरिरहेको जग्गाको लालपूर्जा पाएका छन् । यसले ती परिवारमा दशैँको खुशीयालीसँगै आफ्नै जमिनको स्वामित्व पाएको खुशी थपिएको हो ।

जिल्ला भूमि समस्या समाधान समिति झापाको तर्फबाट आवश्यक प्रक्रिया पूरा गरी अव्यवस्थित बसोबासी सात परिवारलाई ‌ कुल १ विगाहा ४ कट्ठा ५ धुर जग्गाको स्वामित्वको लालपूर्जा वितरण गरिएको हो ।

अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोम्देन तामाङको अध्यक्षतामा आयोजित संक्षिप्त कार्यक्रमका बीच प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी ‌ तथा भूमि समस्या समाधान समितिका संयोजक ‌ श्रवणकुमार पोखरेललगायतले लालपूर्जा वितरण गरेका थिए ।
प्रजिअ पोखरेलका अनुसार जिल्ला भूमि समस्या समाधान समितिमा ६२ हजारभन्दा बढी ‌ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले भूमि प्राप्तिका लागि आवेदन दिएका छन् । भूमिहीन दलिततर्फ २ हजार ८९३ जनाले निवेदन दिएका छन् भने ‌ भूमिहीन सुकुम्बासीतर्फ १५हजार ७२८ जनाले निवेदन दिएका छन् ‌। त्यस्तै अव्यवस्थित बसोबासीतर्फ ‌ झन् ठूलो संख्यामा ‌ ४१ हजार ६६६ जनाले निवेदन दिएक छन् ।

जिल्लाका सबै १५ वटा स्थानीय तहको नेतृत्वमा सक्रियताका साथ छानबिन भइरहेको ‌ जनाउँदै ‌ प्रचलित कानुन बमोजिम मिल्ने ‌ निवेदनकर्ताहरूलाई ‌ समितिको क्षमताको आधारमा ‌ उच्च प्राथमिकताका साथ लालपुर्जा वितरण गरिने ‌ प्रजिअ पोखरेलले बताए ।

आज लालपूर्जा पाउने अव्यवस्थित बसोबासीहरूमा अर्जुनधारा ११ का सुनिता बिक, रेणुकादेवी दर्जी, राहन सिंह याखा, सरिता दर्जी, बसन्तकुमार तामाङ, मुशान सुब्बा र रत्नबहादुर इङ्नाम छन् । ती सात परिवारलाई ८ हजार २२४ वर्गमिटर जग्गाको लालपूर्जा उपलब्ध गराइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds