झापामा ७८ जना उम्मेद्वारको जमानत जफत

झापा । प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि झापामा उम्मेद्वारी दिएका ९० जना उम्मेद्वारमध्ये ७८ जनाको जमानत जफत भएको छ ।

प्रत्यक्षतर्फको अन्तिम मता परिणाम अनुसार खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेका उम्मेद्वारहरुको जमानत जफत भएको हो । झापामा जमानत जफत हुनेहरुमा नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, श्रम संस्कृति पार्टी, नेपाली कम्युनिष्ट पार्टीलगायतका उम्मेद्वार पनि छन् ।
जिल्ला निर्वाचन कार्यालय झापाले सार्वजनिक गरेको तथ्यांक अनुसार झापा क्षेत्र नं १ मा १२ जना उम्मेद्वारको जमानत जफत भएको छ । नेकपा एमालेका रामचन्द्र उप्रेती,

राप्रपाका हेमराज कार्की, नेकपाका अशेष घिमिरेलगायतको जमानत जफत भएको छ । उहाँहरुले सदर मतको १० प्रतिशत मत ल्याउन सक्नुभएन ।
क्षेत्र नं २ मा राप्रपाका भद्रप्रसाद नेपाल (स्वागत), श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारी, नेकपाकी धर्मशीला चापागार्इंसहित १६ जना उम्मेद्वारको जमानत जफत भएको छ ।

त्यस्तै क्षेत्र नं ३ मा नेपाली कांग्रेसका राजेन्द्रकुमार घिमिरे, नेकपा एमालेका हरिबहादुर राजवंशी, श्रम संस्कृति पार्टीका दिपक तिम्सिना, नेकपाका डिल्लीराम घिमिरेसहित १५ जना उम्मेद्वारको जमानत जफत भएको छ भने क्षेत्र नं ४ मा राप्रपाका भक्तिप्रसाद सिटौला, नेकपाका पुरुषोत्तम चुडालसहित १३ जना उम्मेद्वारको जमानत जफत भएको छ ।
क्षेत्र नं ५ मा नेपाली कांग्रेसकी मन्धरा चिमरिया, राप्रपाका लक्ष्मीप्रसाद संग्रौला, श्रम संस्कृति पार्टीका समिर तामाङसहित २२ जना उम्मेद्वारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेद्वारको जमानत (धरौटी) जफत हुने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *