झापा । अपांगता भएकाहरुको हकहितका लागि स्थापित नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र झापा शाखा केन्द्रीय समितिले हालै गरेको निर्णयको विरोध गर्दै आन्दोलित बनेको छ ।
नेपाल अपांग संघ, खगेन्द्र नवजीवन केन्द्रको विवादित केन्द्रीय समितिले गैरकानूनी रुपमा झापा शाखालाई विघटन गरेको भन्दै त्यसका पदाधिकारी–सदस्यहरु विरोधमा उत्रिएका हुन् ।
वि. सं. २०४१ सालमा स्थापना भई केन्द्रको मातहतमा रहँदै आएको झापा शाखालाई अदालतबाट मुद्दा किनारा नलागिसकेको केन्द्रीय समितिका सभापति सामदेन लामाले झापा शाखाको समितिलाई निलम्बन गरी तदर्थ समिति गठन गरिएको पत्र पठाएपछि शाखाका पदाधिकारी–सदस्यहरुले त्यसको विरोध गर्दै एकपक्षीय र गैरकानूनी यो निर्णयले जटिलता निम्त्याएको बताएका छन् ।
विवादित केन्द्रीय समितिको निर्णय कार्यान्वयन नगर्न–नगराउन अनुरोध गर्दै झााप शाखाले आज जिल्ला प्रशासन कार्यालय झापा र भद्रपुर नगरपालिकालाई ज्ञापन बुझाउँदै पत्रकार सम्मेलनमार्फत केन्द्रको निर्णयप्रति कडा आपत्ति जनाएको छ ।
झापा शाखाले प्रदेश सरकार, स्थानीय सरकार एवम् दाताहरुको सहयोगमा विगत ६ वर्षदेखि सहाराविहीन अपांगता भएकाहरुका लागि सञ्चालन गर्दै आएको पुनःस्थापना सेवा सञ्चालनमा समेत केन्द्रीय समितिको विवादित निर्णयले जटिलता निम्त्याएको जनाउँदै अन्तरिम आदेश मात्र पाएको अल्पकालीन केन्द्रीय समितिले प्रतिशोधपूर्ण ढंगले गरेको निर्णय मान्न झापा शाखा बाध्य नहुने प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

भद्रपुर–४ स्थित झापा शाखाको कार्यालयमा कार्यवाहक सभापति पवन श्रेष्ठको अध्यक्षतामा आज आयोजित पत्रकार सम्मेलनमा शाखाले अघि सारेको विरोध कार्यक्रमका संयोजक तोयानाथ गड्तौलाले केन्द्रको कामचलाउ समितिले पूर्वाग्रही ढंगबाट कपोलकल्पित र आधारहीन आरोप लगाएर झापा शाखालाई निलम्बन गरेको बताउँदै त्यसका विरुद्ध झापा शाखा चरणबद्ध आन्दोलनमा होमिएको उल्लेख गरे । उनले साउदेन नेतृत्वको केन्द्रीय समितिलाई झापा शाखाका पदाधिकारी–सदस्यहरुलाई लगाएको आरोप पुष्टि गर्न चुनौती दिँदै आधारहीन विषयलाई लिएर जनमानसमा भ्रम नछर्न पनि आग्रह गरे् ।
झापा शाखाले जिल्ला प्रशासन कार्यालय र भद्रपुर नगरपालिकालाई झापा शाखाका गतिविधिको अवलोकन–अनुगमन गरी यथार्थ बुझेर मात्र सही कदम चाल्न पनि आग्रह गरेको छ ।
पत्रकार सम्मेलनमा उपस्थित नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रका पूर्व केन्द्रीय सभापति धनजुजु श्रेष्ठ, केन्द्रीय कोषाध्यक्ष बालध्वज कार्की, केन्द्रीय सदस्य गोपाल श्रेष्ठलगायतले साउदेन नेतृत्वको केन्द्रीय समितिले झापा शाखाप्रति प्रतिशोधपूर्ण निर्णय गरेको भन्दै त्यसको विरोधमा आफूहरु पनि रहेको बताए ।
झापा शाखाका सदस्य केदार महतले सहजीकरण गरेको पत्रकार सम्मेलनमा संयोजक गड्तौलाले केन्द्रले निर्णय नसच्याएसम्म आन्दोलन नरोकिने बताएका थिए ।
