झापा । झापाका निर्माण व्यवसायीहरुले निर्माण क्षेत्रमा ‘आपतकाल’ घोषणा गर्न सरकारसँग माग गरेका छन् । उनीहरुले निर्माण सामाग्रीमा भइरहेको अत्यधिक मूल्यबृद्धिले निर्माण क्षेत्र ठप्प हुने स्थितिमा पुगेक कारण सरकारले तत्काल ‘आपतकाल’ घोषणा गरी निर्माण व्यवसायीहरूलाई राहत दिन माग गरेका हुन् ।
निर्माण व्यवसायी संघ झापाले बुधबार विर्तामोडस्थित संघकै भवनमा पत्रकार सम्मेलन आयोजना गरी निर्माण व्यवसाय क्षेत्रमा पछिल्लो समयमा भइरहेक समस्याका बारेमा जानकारी गराएको हो । संघले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै मध्यपूर्वमा जारी युद्धका कारण निर्माण उद्योगमा प्रयोग हुने निर्माण सामग्रीमा अत्यधिक मूल्यबृद्धिले निर्माण उद्योग दिन–प्रतिदिन धरायशी बन्दै गएको कारण ‘आपतकाल’ घोषणा गरी सरकारले व्यवसायीहरूलाई अविलम्ब राहत दिन आग्रह गरेको छ ।
विज्ञप्तिमा भनिएको छ— ‘डिजेल, पेट्रोल, मट्टितेललगायतका इन्धन सामग्रीमा पटक–पटक भइरहेको अत्यधिक एवम् अप्रत्याशित मूल्यबृद्धिका साथै नदीजन्य निर्माण सामग्री खोलाबाट निकाल्न नपाउनु, व्यक्तिगत जग्गाबाट खरिद गरिएका ढुङ्गा, गिटी, बालुवा ओसारपसारमा स्थानीय निकाय र सुरक्षा निकायको धरपकड हुनुले निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको प्रति निर्माण व्यवसायी संघ झापा, नेपाल सरकारसहित सम्बन्धित सबै निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ ।’
‘त्यसै गरी इन्धनजन्य सामाग्रीहरूसहित निर्माण कार्यमा व्यापक प्रयोग हुने बिटुमिन, सिमेन्ट, डन्डी लगायत नदीजन्य निर्माण सामाग्रीहरूमा समेत निरन्तर भइरहेको अप्रत्याशित एवं अत्यधिक मूल्यवृद्धि र बजारमा उक्त सामाग्रीहरूको अभावले निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको छ। यस बाहेक देशका विभिन्न ठाउँमा क्रसर उद्योगमा देखिएको समस्या, कतिपय स्थानीय निकायमा काम सम्पन्न गरे तापनि भुक्तानी नपाउनु (समयमै रकमान्तर नहुनु) साथै धेरै व्यवसायीहरूले २०८०÷०८१ देखिको पूर्वाधार विकास कार्यालय झापाबाट हालसम्म भुक्तानी नपाउनुले निर्माण व्यवसायीहरू थप आक्रान्त भएको अवस्था छ’– विज्ञप्तिमा उल्लेख छ ।
निर्माण उद्योगको यस्तो अत्यन्त विषम परिस्थितिका विषयमा केन्द्रीय महासंघले बारम्बार नेपाल सरकारलगायत सम्बन्धित निकायहरूमा पत्राचार गरे
पनि समस्या समाधान हुने गरी अहिलेसम्म कार्यान्वयन नभएको संघले जनाएको छ ।
विज्ञप्तिमा वार्षिक ठेक्काको कुनै पनि मूल्य समायोजन राख्ने प्रावधान नहुन र मुल्य समायोजन हुने बहुवर्षिय ठेक्काको मूल्य समायोजन राष्ट्र बैङ्कको मूल्य सूचकाङ्क अनुसार हुने भएकाले बजारमा निर्माण सामाग्रीहरूको अत्यधिक मूल्यवृद्धि भए तापनि राष्ट्र बैङ्कको इन्डेक्समा उक्त सामाग्रीहरूको मूल्य घटेको देखाइने प्रचलनका कारण निर्माण उद्योगमा थप संकट देखिएको जनाइएको छ ।
‘निर्माण कार्य तीव्र रुपमा हुने समयमा नै इन्धन सामग्रीसहित निर्माण सामग्रीहरूमा निरन्तर भइरहेको अत्यधिक मूल्यबृद्धि एवम् अभावले निर्माण व्यवसायीहरूलाई ठूलो आर्थिक भार परेको हुँदा निर्माण उद्योगमा ‘आपतकाल’ घोषणा गरी व्यवसायीहरूलाई अविलम्ब राहत दिन यस जिल्ला संघ जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ– ‘प्रत्येक आयोजनामा मूल्यबद्धि भएअनुरूप हालको कानूनी व्यवस्थाबाट मूल्य समायोजन हुन नसक्ने हुँदा मूल्य समायोजनको मार्ग निर्देशिका–२ तत्काल जारी गर्न र सबै अवधिका ठेक्काको हकमा मूल्य समायोजनको व्यवस्था गरी मूल्यबृद्धिको समस्याबाट पीडित सबै तह र तप्काका निर्माण व्यवसायीहरूको समस्या तुरुन्त सम्बोधन गर्न निर्माण व्यवसायी संघ झापा सरकारसमक्ष अपील गर्दछ ।’
