झापा । स्थानीय कच्चा पदार्थ प्रयोग गरी वैकल्पिक ऊर्जा ब्रिकेट उत्पादन गर्दै आएको झापाको पराजुली बायोमास ब्रिकेट उद्योगले अब पेलेट ऊर्जा उत्पादन पनि सुरू गरेको छ । मेचीनगर नगरपालिका–१५ मा अवस्थित सो उद्योगले सोमबार विधिपूवृक नयाँ मेशिनको पूजा गरी औपचारिक रूपमा उत्पादन प्रारम्भ गरेको हो ।

उद्योगका सञ्चालकद्वय चण्डीप्रसाद पराजुली र आदित्य पराजुलीले संयुक्त रूपमा मेशिन सञ्चालन गर्दै पेलेट उत्पादनको थालनी गरेका हुन् । उनीहरूले स्थानीय स्रोत र प्रविधिको उपयोग गरेर हरित ऊर्जाको प्रवद्र्धन गर्ने उद्देश्यले यो पहल अघि बढाइएको बताए ।
पेलेट ऊर्जा विशेषगरी चिया उद्योग, सिमेन्ट, इँटा तथा फलाम उद्योगहरूमा इन्धनका रूपमा प्रयोग हुने गर्छ । वातावरणलाई प्रभाव पार्ने पत्थरकोइला तथा अन्य जीवाश्म इन्धनको विकल्पका रूपमा पेलेट ऊर्जा प्रभावकारी बन्ने विश्वासका साथ यसको उत्पादन सुरु गरिएको उद्योगका व्यवस्था निर्देशक आदित्य पराजुलीले जानकारी दिए । उद्योगहरूलाई सस्तो, दिगो र वातावरणमैत्री पेलेट ऊर्जा उपलब्ध गराइने पनि उनले बताए ।
उद्योगका अनुसार, नयाँ जडान गरिएको मेशिन १२ घण्टा सञ्चालन हुँदा करिब ७० हजार किलोसम्म पेलेट उत्पादन गर्न सक्ने क्षमता राख्छ । यो उत्पादन क्षमताले स्थानीय बजारको माग पूरा गर्नुका साथै अन्य जिल्ला र छिमेकी मुलुक भारतमा समेत निर्यात हुने सम्भावना रहेको पराजुलीको भनाइ छ । उनले उत्पादन सुरु हुनुअघि नै नेपालगञ्जको एउटा स्टिल उद्योगले पेलेटको माग गरेको छ भने भारतबाट पनि माग आएको जानकारी दिएका छन् ।
पेलेट उत्पादनका लागि प्रयोग हुने कच्चा पदार्थहरू पूर्ण रूपमा स्थानीय स्तरमै उपलब्ध हुने गरेको छ । खेर जाने भेनियर सिट, उखुको खोस्टा, सुकेका पातपतिंगर, बाँसका चोइटा तथा विभिन्न कुकाठका टुक्राहरूलाई प्रशोधन गरी पेलेट तयार गरिन्छ । यसले फोहोर व्यवस्थापनमा समेत सहयोग पुर्यााउने र वातावरण प्रदूषण कम गर्ने उद्योगका अध्यक्ष चण्डीप्रसाद पराजुलीले बताए ।
व्यवस्था निर्देशक आदित्य पराजुली भन्छन्– ‘हामीले उत्पादन सुरु गरेको पेलेट ऊर्जाले वातावरण स्वच्छ राख्न मद्दत पुर्याउने मात्र होइन, पत्थरकोइला आयातलाई घटाउँदै देशको व्यापार घाटा कम गर्न पनि टेवा दिनेछ ।’ उनका अनुसार, नेपालमा उर्जा आयातमा ठूलो रकम बाहिरिने भएकाले यस्ता वैकल्पिक ऊर्जाका स्रोतहरु राज्यले विकास गर्न आवश्यक छ ।
झापामा यस प्रकारको उद्योग यो दोस्रो हो । पहिलो उद्योगको उत्पादन न्यून बन्दै गएको अवस्थामा यो उद्योग स्थापना भएको छ ।
स्थानीय तहका प्रतिनिधिहरूले पनि उद्योगको पहललाई सकारात्मक रूपमा लिएका छन् । भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले यस्ता उद्योगहरूले रोजगारी सिर्जना गर्नुका साथै स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । उद्योग सञ्चालनसँगै दर्जनौं युवाले प्रत्यक्ष रोजगारी पाएका छन् भने अप्रत्यक्ष रूपमा कच्चा पदार्थ संकलन र ढुवानीमा समेत धेरैलाई आयआर्जनको अवसर सिर्जना भएको छ ।
वातावरणविद्हरूले पनि जैविक फोहोरको पुनः प्रयोग गरेर ऊर्जा उत्पादन गर्नु दिगो विकासका लागि महत्वपूर्ण कदम भएको बताएका छन् । वन क्षेत्रको संरक्षण, कार्बन उत्सर्जनमा कमी तथा उर्जा सुरक्षामा बृद्धिजस्ता पक्षमा यसले सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
हाल नेपालमा उद्योग तथा घरेलु प्रयोजनका लागि प्रयोग हुने अधिकांश इन्धन आयातमा निर्भर रहँदै आएको छ । यस्तो अवस्थामा स्थानीय स्रोतमा आधारित ऊर्जा उत्पादनले आत्मनिर्भर अर्थतन्त्र निर्माणतर्फ महत्वपूर्ण योगदान पुर्याउने देखिन्छ ।
समग्रमा, पराजुली बायोमास ब्रिकेट उद्योगको पेलेट उत्पादन सुरुवातले झापा मात्र होइन, देशभर हरित ऊर्जा प्रवद्र्धनमा नयाँ सम्भावना देखाएको छ । यदि यस्ता पहलहरूलाई राज्यले प्रोत्साहन र सहुलियत प्रदान गर्न सके, भविष्यमा नेपालले उर्जा क्षेत्रमा आत्मनिर्भरता हासिल गर्ने बाटो अझ सहज बन्नेछ ।
