विश्व पर्यटन दिवस ः झापामा विदेशी नागरिकलाई स्वागत, पर्यटन क्षेत्रमा योगदान गर्नेलाई सम्मान

लक्ष्मी उप्रेती

झापा । झापामा आज ४७ औंँ विश्व पर्यटन दिवस विविध रचनात्मक कार्यक्रम गरी मनाइएको छ ।

अध्यागमन कार्यालय काँकरभिट्टाको सभाहलमा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले पानसमा दीप प्रज्वलन गरी विधिवतरुपमा उद्घाटन गरेको कार्यक्रमको अध्यक्षता पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाले गरेका थिए ।

पर्यटन कार्यालय काँकरभिट्टाको आयोजना र अध्यागमन कार्यालय काँकरभिट्टाको समन्वयमा आयोजित कार्यक्रममा आज काँकरभिट्टा नाका भएर विदेशबाट आएका वा वाहिरिएका पर्यटकलाई स्वागत–सम्मान गरिएको थियो । आज पहिलो पर्यटक अमेरिकी नागरिक जुडी अब्रामोवलाई खादा, अविर टीका र फूलको गुच्छाले सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बुढाथोकी, कार्यक्रमका अध्यक्ष खतिवडा, विशिष्ट अतिथि मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख शिवलाल न्यौपानेले संयुक्तरुपमा सम्मान गरेका थिए ।
यसैगरी, काँकरभिट्टा नाका भएर बाहिरिने पहिलो पर्यटकलाई समेत रुद्राक्षको माला र खादाले सम्मान गरिएको थियो ।

यस्तै, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवम् संस्थालाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा प्रेस क्लब मेचीनगर, पर्यटन पत्रकार मञ्च झापा, कोशी प्रदेशसभाका पूर्व सदस्य श्रीप्रसाद मैनाली, चित्रकार छितेन शेर्पा, पर्यटन प्रवद्र्धन सरोकार समिति इलामका अध्यक्ष प्रेम सापकोटा, अंशुडाँडा सामूदायिक होमस्टे सूर्याेदय इलाम, गाइड पोर्टर ड्राइभर क्लब इलामका अध्यक्ष प्रशान्त गिरी यात्री, लाइभलाइन टुर्स एण्ड ट्राभल्स मेचीनगर काँकरभिट्टा, सुमेरु टुर्स एण्ड ट्राभल्स अर्जुनधारा, अतिथि होमस्टे इलाम, होटल व्यवसायी संघ इलामका अध्यक्ष देवीप्रसाद पौडेल, गुम्बाडाँडा होमस्टे ताप्लेजुङ फुङ्गलिङ, फालेलुङ सामुदायिक होमस्टे पाँचथर, सिलीगुडी जर्नालिष्ट क्लब, भारतलगायत छन् ।

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख बुढाथोकीले पर्यटकलाई नेपालमा आकर्षित गरी उनीहरूको सुखद् भ्रमणको अनुभूति हुने वातावरण सिर्जना गर्नुपर्ने बताए । वर्षमा एक पटक यस्ता उत्सव मनाएर मात्र पर्यटनको विकास र प्रवद्र्धन नहुने भन्दै उनले दिवसले नेपालको तुलनात्मक लाभको रूपमा रहेको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा केही हदसम्म सहयोग पुग्ने बताए ।

तीन तहका सरकारका साथै निजी क्षेत्रसँगको सहकार्यमा मुलुकलाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने, पर्यटन प्रवद्र्धन र पूर्वाधारको विकास गरी राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान अभिवृद्धि गर्ने योजनासहित मेचीनगर नगरपालिकाले कार्यहरू अगाडि बढाएको नगरप्रमुख बुढाथोकीले जानकारी दिए । त्यसैगरी, पर्यटनको लाभ दुर्गम तथा ग्रामीण भेगसम्म पुर्याउन ग्रामीण पर्यटन, पर्यावरणमैत्री पर्यटन र समुदायमा आधारित पर्यटनसँग आबद्ध गर्दै अघि बढ्न उपयुक्त हुने उनको सुझाव थियो ।

विशिष्ट अतिथि मेची भन्सार कार्यालय प्रमुख शिवलाल न्यौपानेले नेपाल अनुपम प्राकृतिक विविधता, भौगोलिक, सांस्कृतिक, धार्मिक तथा विविध भाषा र भेषभुषाले भरिपूर्ण पर्यटकीय गन्तव्य भएको स्पष्ट पारे ।

पर्यटन मञ्च झापाका अध्यक्ष उदयकुमार श्रेष्ठले नयाँ प्रविधि र एआईको प्रयोगलगायतका विषयमा धारणा राखेका थिए ।

कार्यक्रममा कोशी प्रदेश सभाका पूर्व सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिका वडा नं ४ का वडाध्यक्ष अर्जुन कार्की, केचना कञ्चनजंघा पर्यटन विकास समितिका अध्यक्ष नरेन्द्र बुढाथोकी, सञ्चारकर्मी प्रशान्त आचार्यलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा पर्यटन विज्ञ डा. आलोक प्रसाईले ‘वर्तमान सन्दर्भमा पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा सीमापार पर्यटनको महत्व’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

पर्यटन कार्यालय काँकरभिट्टाका लेखा अधिकृत ईश्वरीकुमार पौडेलले सञ्चालन गरेको कार्यक्रममा पर्यटन कार्यालयकै पर्यटन प्रवन्धन शाखा प्रमुख निरज दर्नालले स्वागतसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

विश्व पर्यटन दिवस प्रत्येक वर्ष सेप्टेम्बर २७ तारिखका दिन मनाइन्छ । सन् १९८० देखि संयुक्त राष्ट्र विश्व पर्यटन सङ्गठन (डब्लुटीओ)–ले सेप्टेम्बर २७ लाई विश्व पर्यटन दिवसका रूपमा मनाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds

This will close in 0 seconds