नेपाली कांग्रेस संस्थापनइतर पक्षको भद्रपुर नगर सभापतिमा खड्क लिम्बू

झापा । नेपाली कांग्रेस संस्थापनइतर समूहको भद्रपुर नगरस्तरीय अधिवेशन बुधबार सम्पन्न भएको छ ।

झापा उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न अधिवेशनले युवा नेता खड्कबहादुर लिम्बूको नेतृत्वमा नगर समिति सर्वसम्मत गठन गरेको छ । अधिवेशनले हाललाई केही पदाधिकारी मात्र चयन गरेको बुझिएको छ ।

अधिवेशनका लागि संयोजक तोकिएका लिम्बूकै सभापतित्वमा आयोजित अधिवेशनको उद्घाटन पार्टीकी केन्द्रीय सदस्य तथा कोशी प्रदेश संयोजक गोमादेवी भट्टराईले गरेकी थिइन् ।

अधिवेशनले तय गरेको दुईजना उपसभापतिमध्ये एलिना न्यौपाने दाहाललाई चयन गरेको छ भने एकजना पछि चयन गरिने बताइएको छ ।

त्यसैगरी, दुईजना सचिव पदमा मानसिंह राजवंशी र रुद्र तामाङ चयन भएका छन् भने दुईजना सहसचिव पदमा बिर्जु सहनी र अजय राजवंशी चयन भएका छन् ।
अन्य पदाधिकारी र सदस्य पछि चयन गरिने नवनिर्वाचित सभापति लिम्बूले जानकारी दिए ।

कांग्रेस संस्थापनइतर पक्षको सो अधिवेशनमा पार्टीका झापा जिल्ला सचिव कृष्ण हुमागाईं, कांग्रेसका पुराना नेता तथा कोशी प्रदेशका पूर्व मन्त्री ओमप्रकाश सरावगीलगायतको उपस्थिति थियो ।

झापा उद्योग वाणिज्य संघका विशिष्ट सदस्यसमेत रहेका लिम्बू नेपाली कांग्रेसको विद्यार्थी तथा तरुण राजनीतिमा सक्रिय रहँदै पार्टीमा निरन्तर क्रियाशील व्यक्तित्व हुन् । उनले भद्रपुरमा पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउने प्रतिबद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds