झापामा कोशी प्रदेशस्तरीय बृहत् विज्ञान तथा प्रविधि प्रदर्शनी हुने

झापा । झापामा आगामी जेठ १ गतेदेखि ३ गतेसम्म कोशी प्रदेशस्तरीय बृहत् विज्ञान तथा प्रविधि प्रदर्शनी आयोजना हुने भएको छ ।

नेकपा (एमाले) विज्ञान तथा प्रविधि विभाग कोशी प्रदेशको आयोजनामा झापाको विर्तामोडस्थित देवी माध्यमिक विद्यालयको प्रांगणमा बृहत विज्ञान तथा प्रविधि प्रदर्शनी हुने बताइएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै विभाग संयोजक गणेश पोखरेलले प्रदर्शनीमा कोशी प्रदेशभरिका १५० विद्यालय सहभागी हुने बताए । पाँच सय विद्यार्थीले प्रतियोगितात्मक रूपमा सहभागिता जनाउने र करिब एक लाखले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको उनले जानकारी दिए ।

प्रदर्शनी सम्पन्न गर्न करिब ३५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगितामा प्रथम हुनेलाई ४ लाख, द्वितीयलाई ३ लाख, तृतीयलाई २ लाख र सान्त्वनालाई १ लाख रुपैयाँको नगद पुरस्कार प्रदान गरिनेछ । निर्णायकको रूपमा विभिन्न क्षेत्रका विज्ञहरू रहनेछन् ।

कार्यक्रमको उद्देश्य युवाहरुलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा उत्प्रेरित गर्दै दक्ष जनशक्ति उत्पादन गर्नु रहेको आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा नेकपाका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राई, झापा जिल्ला इञ्चार्ज रोमनाथ ओली, जिल्ला कमिटी अध्यक्ष प्रेम गिरीलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *