मेची उद्योग वाणिज्य संघको साधारणसभा ः पत्रकार भण्डारी पुरस्कृत

झापा । झापाको पूर्वी क्षेत्रमा रहेको मेची उद्योग वाणिज्य संघले १९ औं साधारणसभा सम्पन्न गरेको छ ।
संघका अध्यक्ष खेमराज प्रसाईंको अध्यक्षतामा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले साधारणसभा उद्घाटन गरेका थिए ।

सो अवसरमा एकजना पत्रकार र एकजना एम्बुलेन्स चालकलाई पुरस्कृत गरिएको थियो ।


राष्ट्रिय समाचार समिति झापाकी समाचारदाता अम्बिका भण्डारी मेची उद्योग बाणिज्य संघद्वारा स्थापित ‘आर्थिक पत्रकारिता पुरस्कार’बाट पुरस्कृत भएकी हुन् । उनलाई प्रमुअ अतिथि राउतले रु. २१ हजार राशी र सम्मानपत्रले पुरस्कृत गरे । पत्रकार भण्डारी दुई दशकदेखि निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशील छिन् । राससबाहेक लोकतन्त्र पोस्ट, जनसंसद् र पूर्वाञ्चल दैनिकमा उनी कार्यरत थिइन् ।

सोही कार्यक्रममा उत्कृष्ट कर्मचारीको रुपमा एम्बुलेन्स चालक मीनबहादुर खड्का (कुमार)–लाई नगद रु १५ हजारसहित सम्मानपत्रले पुरस्कृत गरिएको थियो ।

आजै बन्दसत्र पनि सम्पन्न भएको छ । बन्द सत्रमा उद्योग वाणिज्य क्षेत्रका समस्या र तिनको समाधानका विषयमा छलफल भएको थियो ।
सो अवसरमा बन्दै गरेको एसियन हाइवेले विकासको थप ढोका खुल्ने सम्भावना बढेको प्रमुख अतिथि राउतले बताए । उनले सरकारसँग तयारी वस्तु आयातमा दोब्बर कर बढाउन र कच्चा पदार्थ आयातमा सहुलियत दिन आग्रह गरे ।


कार्यक्रममा बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख विष्णु प्रसाईले भारतीय सीमावर्ती क्षेत्रमा जाँदा अझै पनि परिचय खुल्ने कागजात देखाउनुपर्ने झन्टझटिलो प्रवृत्ति हटाउन वणिज्य संघलाई पहल गर्न आग्रह गरे । उद्योग वणिज्य संघले शिक्षा, स्वास्थ्य र खेलकुदमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।

मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले भारतीय बजार गुल्जार हुँदा नेपाली बजार सुनसान हुने गरेको बताए । उनले स्थलमार्गबाट सीधै भूटान–बंगलादेश व्यापार गर्ने मुख्य नाका काँकरभिट्टा रहेको जानकारी दिँदै स्वदेशी बजारलाई प्राथमिकतामा राखेर काम गर्न अनुरोध गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले सबैभन्दा बढी उद्योगी व्यवसायी पीडित रहेको बताए । उनले भारतीय बजार गुल्जार हुँदा नेपाली व्यापारी–व्यवसायीहरु सटर खाली गर्नुपर्ने स्थितिमा बताए ।

महासंघका केन्द्रीय सदस्य नरेन्द्र खड्काले सरकारको ढिकुटीमा पैसा थुप्रिए तापनि सत्ता परिवर्तनको खेल भइरहँदा सदुपयोग हुन नसकेको बताए ।

झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठ, मेचीनगर नगरपालिका पूर्व प्रमुख विमल आचार्य, मेचीनगर नगरपालिकाका आर्थिक शाखा प्रमुख पदमबहादुर कार्कीलायतले शुभकामना मन्तव्य व्यक्त गरेको समारोहमा अध्यक्ष प्रसाईले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संघका महासचिव दिनेश शाक्यले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्रीले स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *