पूर्वी पहाडमा अलैंची पुनःरोपण अभियान सञ्चालन ः किसान उत्साहित

रोहित काफ्ले

रोङ/देउमाई (इलाम) । नेपालको प्रमुख नगदे कृषि बाली अलैंची उत्पादन हुने पूर्वी पहाडी जिल्लामा अलैंची पुनःरोपण अभियान सुरु गरिएको छ ।

विभिन्नखाले रोग, प्रकोप र वर्षौं पुराना बोट भएका कारण अलैंची खेती मासिँदै जाँदा किसानहरु निराश भइरहेका बेला पूर्वी पहाडी जिल्ला इलामबाट नयाँ प्रविधिमा आधारित अलैंची पुनःरोपण अभियान सुरु गरिएको हो ।

कोशी प्रदेश, उद्योग कृषि तथा सहकारी मन्त्रालयको आर्थिक तथा अलैंची विकास केन्द्र फिक्कलको प्राविधिक सहयोगमा नेपाल अलैंची व्यवसायी महासंघले अभियानको संयोजन गरेको छ ।

बिहीबार इलामको रोङ गाउँपालिका र शुक्रबार देउमाई नगरपालिकामा अलैँची विकास केन्द्रले टिस्यु क्लचर प्रविधिबाट उत्पादन गरेको स्वस्थ नयाँ विरुवा रोपण गरेर अभियान सुरु गरिएको नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले जानकारी दिए । उनले इलाम अलैंचीको उद्गम जिल्ला भएको र विभिन्न रोगका कारण यसै जिल्लाबाट अलैंची मासिन थालेकोले पनि अलैंची पुनःरोपण अभियान यसै जिल्लाबाट सुरु गरिएको बताए ।

प्रदेश तथा स्थानीय सरकार, व्यवसायी, किसान तथा प्राविधिक क्षेत्रसमेत सबै सरोकारवालाको सहभागितामा यो अभियान सुरु भएकोले यसबाट प्रतिफल प्राप्त हुने विश्वास रहेको बताइएको छ ।

बिहीबार रोङ गाउँपालिकाको वडा नं ४ किटेनीस्थित सुम्निमा नर्सरी उद्योगमा नर्सरी विरुवा रोपण गरेर र शनिबार देउमाई नगरपालिका ६ मा स्थानीय सुरज वस्नेतको खेतमा उत्पादनयोग्य विरुवा रोपण गरेर अभियान शुभारम्भ गरिएको थियो । त्यहाँ संक्षिप्त औपचारिक कार्यक्रम आयोजना गरिएको थियो भने स्थानीय किसानहरुका समस्या र गुनासाहरु पनि संकलन गरिएको नेपाल अलैंची व्यवसायी महासंघका कार्यकारी अधिकृत अनिल ढुंगानाले बताए ।

कोशी प्रदेश उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. लेखराज दाहाल, रोङ गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया खवास, देउमाई नगरपालिका, वडा नं ६ का वडाध्यक्ष सुरेन वस्नेत, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य दीपक नेपाल, नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई, वरिष्ठ उपाध्यक्ष इन्द्रचन्द विन्दल, उपाध्यक्षहरु सुवास भट्टराई, मातृका घिमिरे, महासचिव नारायण चिमरिया, महासंघका सल्लाहकार पवन विन्दल, भरत चौधरी, अलैंची विकास केन्द्रका प्रमुख राजन परियारलगायतले संयुक्त रुपमा विरुवा रोपेर अभियानको शुभारम्भ गरेका थिए ।

रोङमा अलैंची नर्सरीकै लागि महासंघको आर्थिक सहयोगमा निर्माण गरिएको टनेलमा नर्सरीकै लागि चारसय विरुवा रोपण गरिएको छ । यो नर्सरीबाट आगामी वर्ष चार हजार विरुवा उत्पादन हुने र सो विरुवा अलैंची उत्पादनका लागि पुनः किसानहरुलाई वितरण गरिने अलैंची विकास केन्द्रका प्रमुख परियारले जानकारी दिए । देउमाईमा अलैंचीका विरुवा रोपणका साथै स्थानीय किसानहरुलाई ४ हजार नयाँ विरुवा वितरण गरिएको थियो । परियारले टिस्यु कल्चर प्रविधिबाट अत्यन्त सुरक्षित ल्याबमा तयार गरिएकोले यी विरुवा रोगमुक्त र बढी आम्दानी दिने किसिमको रहेको स्पष्ट पारे । उनका अनुसार केन्द्रले अहिले तयार गरेको विरुवाले आगामी ४०–५० वर्षसम्म आम्दानी लिन सकिनेछ । तर, किसानले रोपण प्रविधि, मल–सिँचाइ र सरसफाइमा विशेष ध्यान पुर्याउनुपर्ने उनले बताए ।

मन्त्रालयका सचिव डा. दाहालले बिभिन्न कारणले मासिन लागेको अलैंचीले पुनःरोपण अभियानमार्फत पुनर्जीवन प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन् । कोशी प्रदेशको आयको प्रमुख स्रोत पनि भउको अलैंचीको उत्पादन बृद्धि, मूल्य बृसद्ध र सहज बजारीकरणका लागि मन्त्रायलको तर्फबाट गर्नुपर्ने सबै काम गरिने पनि बताए । ‘अलैंची साँच्चै खोल्साको सुन नैै हा र कोशी प्रदेशका लागि वरदान पनि हो, यसलाई जीवन्त राख्नु हामी सबैको दायित्व हो’, रोङमा आयोजित कार्यक्रममा सवि डा. दाहालले भने– ‘अलैंची प्वद्र्धनका लागि हाम्रो मन्त्रालयले कुनै कसर राख्नेछैन ।’

महासंघका अध्यक्ष भट्टराईले महासंघ किसानसँग प्रत्यक्ष जोडिएको संगठन भएकोले यसले किसानलक्षित कार्यक्रमहरुलाई जोड दिइरहेको पनि बताएका छन् । इलामबाट सुरु भएको यो अभियानले सुखद परिणाम दिएमा पूर्वदेखि–पश्चिमसम्मका अलैंची उत्पादन हुने जिल्लासम्म अभियान विस्तार गरिने पनि बताएका छन् ।


यसैबीच यो अभियानप्रति किसानहरुले पनि खुशी व्यक्त गरेका छन् । रोङ गाउँपालिकाका किसान सोमराज लेप्चाले भने– ‘अलैंची मासिरएर निराश बनेका किसानमा रोगमुक्त विरुवा रोपणको यो अभियानले उत्साह जगाइदिएको छ । इलाममा फेरि अलैंचीका बोटहरुले हरियाली छाउनेछ, किसानको आम्दानी बढ्नेछ ।’

यसैगरी, देउमाइृका किसान धनसिंह राउतले पहिलोचोटि सरोकारवालाहरु एकैसाथ किसानको बारीमा पुगेको देखेको बताउँदै यसले किसानमा उत्साह थपेको बताए । रोगमुक्त र स्वस्थ नयाँ विरुवा रोपणबाट उत्पादनमा बृद्धि हुने अपेक्षा गरिएको बताउँदै उनले बेला–बेलामा प्राविधिक सहयोग पाउनुपर्ने आग्रह गरे ।

नेपालमा एक लाख किसान अलैँची खेती तथा व्यवसायमा आबद्ध रहेका छन् । कूल १९ हजार हेक्टरमा उत्पादन हुने अलैँचीबाट वार्षिक ७ देखि ८ अरब रुपैयाँ नेपाल भित्रिने गरेको छ । अघिल्लो वर्षदेखि मूल्य पनि बृद्धि भएकोले अलैंची उत्पादनमा पुनः किसानहरु जागरुक देखिएका छन् । नेपालको अलैँची उच्च गुणस्तरको हुने भएकाले विदेशी बजारमा यसको माग उच्च रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds