सिम्रिक साकोसद्वारा मोरङमा श्रृंगार तालिम सञ्चालन

झापा । झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा मोरङ जिल्लाको कानेपोखरीमा आजबाट पाँच दिने आधारभूत श्रृंगार तालिम सुरु भएको छ ।
संस्थाको शिक्षा उपसमितिको आयोजनामा मोरङ जिल्ला अन्तर्गतका सेवाकेन्द्रहरुका शेयर सदस्यलाई लक्षित गरेर तालिम आयोजना गरिएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए । संस्थामा आबद्ध महिला शेयर सदस्यलाई आत्मनिर्भर बनाउंँदै उद्यममा जोड्न यस्ता किसिमका तालिम संस्थाले आयोजना गर्दै आइरहेको कार्यकारी प्रमुख बस्नेतको भनाइ छ । उनले पूँजी अभावकै कारण हातमा सीप भएर पनि व्यवसाय सञ्चालनमा समस्या भोग्दै आएका शेयर सदस्यलाई संस्थाले लगानी गर्ने बताए ।
तालिममा मोरङ जिल्ला सेवाकेन्द्रहरुबाट ३४ जना महिला शेयर सदस्य सहभागी छन् । सहभागीलाई जानुका देबी प्रधान र हृदय कुमारी संग्रौलाले प्रशिक्षण दिँदैछन् ।
यसअघि पनि संस्थाको शिक्षा उपसमितिको आयोजनामा इलाम जिल्लाको नेपालटारमा इलाम जिल्लाअन्तर्गतका शेयर सदस्यहरुलाई श्रृंगार तालिम प्रदान गरिएको संस्थाका अध्यक्ष सुवास भट्टराईले जानकारी दिए ।
त्यसैगरी संस्थाले यस अघि खुदुनाबारीमा कपुरधुप बात्ती निर्माण तालिम सम्पन्न गरिसकेको संस्थाका शिक्षा उपसमिति संयोजक मेहरमान बिष्टले बताए ।
शिक्षा उपसमितिका सदस्य बद्री प्याकुरेलले सञ्चालन गरेको कार्यक्रमको औचित्यमाथि कार्यकारी प्रमुख बस्नेतले प्रकाश पारेका थिए ।
झापा, मोरङ, इलाम र पाँचथर गरी ४ जिल्ला कार्यक्षेत्र रहेको सिम्रिक सकोसको ३ अर्ब २१ करोड माथिको वासलात छ भने ४६ वटा सेवाकेन्द्रमार्फत शेयर सदस्यहरुलाई सेवा दिइरहेको संस्थाले जनाएको छ । वित्तीय कारोबारसँगै संस्थाले कृषि, शिक्षा, स्वास्थ्य, सामाजिक क्षेत्रमा काम गर्दै आएको संस्थाका आर्इटी सहायक विजय पाण्डेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *