झापा । निर्यातजन्य नगदे बाली अलैंची प्रशोधनमा संलग्न कर्मचारी र मजदूरहरूलाई स्वास्थ्य र सुरक्षा सम्बन्धी एक दिने अभिमुखीकरण प्रदान गरिएको छ ।
नेपाल अलैँची व्यवसायी महासंघको आयोजना तथा बिर्तामोड नगरपालिकाको सहयोगमा उनीहरुलाई अभीमुखीकरण प्रदान गरिएको हो । बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रको प्रमुख अतिथ्य तथा नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा श्रम कार्यालय भद्रपुरका प्रमुख मातृका कट्टेल र बिर्तामोड नगरपालिकाको श्रम तथा रोजगार शाखा प्रमुख होमनाथ भट्टराईले श्रमिकहरुको हितका लागि बनाइएका नियम–कानून, कमका समयमा मजदूरले स्वास्थ्य तथा सुरक्षाका लागि अपनायनुपर्ने सावधानीलगायतका विषयमा सहजीकरण गरेका थिए । उनीहरूले अलैंचीको क्षेत्रमा काम गर्ने मजदूरहरूले अपनाउनुपर्ने सुरक्षा तथा श्रम ऐन २०७४ मा रहेका बुँदाहरूका विषयमा ुहभागी मजदूरहरुलाई जानकारी दिएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मिश्रले श्रमले तोकेको मूल्य लिएपछि इमानदारीसाथ लगनशील भएर मजदूरहरुले काम गर्नुपर्ने बताए । उनले अलैंचीमा काम गर्ने मजदूरलाई रोजगारीको आवश्यकता भए नगरले पनि मापदण्ड अनुसार रोजगारी दिने बताउँदै सूचीकृत हुन आग्रह गरे ।
महासंघका अध्यक्ष निर्मल भट्टराईले व्यवसायी र मजदूरबीच नङ र मासुको सम्बन्ध रहेको भन्दै काम गर्ने सिलसिलामा सुरक्षाका सावधानी अपनाउनुपर्ने र स्वास्थ्यप्रति पनि उत्तिकै सजग हुनुपर्ने आवश्यकता आँल्याए ।
कार्यक्रममा चेम्बर अफ कमर्सका झापा अध्यक्ष तथा महासंघका सल्लाहकार ओमकृष्ण बिमलीले शुभकामना मन्तव्य राखेका थिए ।
महासंघका महासचिव नारायणप्रसाद चिमरियाले सञ्चालन गरेको कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष इन्द्रचन्द विन्दलले स्वागत थिए ।
अभिमुखीकरणमा करिब एक सय जना अलैंचीमा काम गर्ने मजदूरको सहभागिता रहेको महासंघका कार्यकारी अधिकृत अनिल ढुंगानाले जानकारी दिए ।