झापा । झापाको विर्तामोडस्थित अग्रणी सहकारी संस्था सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले लघुवित्त समीक्षा कार्यक्रम तथा व्यावसायिक मौरी पालनसम्बन्धी तालिम सम्पन्न गरेको छ ।
विर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक साकोसले आइतबार विर्तामोडमा एकदिने लघुवित्त समीक्षासहित मौरी पालनसम्बन्धी तालिमको आयोजना गरेको हो ।
साकोसले संस्थाद्वारा संचालित लघुवित्त कार्यक्रम अन्तर्गतका सेवाकेन्द्रका केन्द्र प्रमुखहरुसँग लघुवित्त कार्यक्रम बारे समीक्षा गरेको थियो ।
संस्थाका कोषाध्यक्ष मेहरमान बिष्टको अध्यक्षतामा आयोजित कार्यक्रममा लघुवित्तको सुरुआती अवस्था र यसको अआवश्यकताका बारेमा संस्थाका कार्यकारी प्रमुख कमल बहादुर बस्नेतले चर्चा गरेका थिए ।
त्यस्तै संस्थाका नीति–नियम तथा सञ्चालन भइरहेका वचत योजनाका सम्बन्धमा आन्तरिक लेखा परीक्षण विभाग प्रमुख दुर्गाप्रसाद रिजाल र कर्जा सदुपयोगिताका बारेमा लघुवित्त विभाग प्रमुख परमानन्द राजवंशीले सहभागीहरुलाई जानकारी गराएका थिए ।
कार्यक्रममा सतासी महिला मौरी पालन कृषि सहकारी संस्थाकी व्यस्थापक देवीमाया दाहालले मौरी पालनको बिषयमा सहजीकरण गरेकी थिइन् । उनले मौरीपालनको व्यावसायिकता र मौरीका लागि आवश्यक हावापानी र वातावरण बारे जानकारी दिएकी थिइन् ।
सदस्यलाई कृषि तथा उद्यमसँग जोड्ने उउद्देश्यका साथ मौरी पालनसम्बन्धी तालिम आयोजना गरिएको संस्थाका कार्यकारी प्रमुख वस्नेतले जानकारी दिए । उनले सदस्यको आर्थिक अवस्था सुधार गर्दै व्यवसायिकतामा जोड्न तालिमले सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।
कार्यक्रमको सञ्चालन संस्थाका सञ्चालक सदस्य प्रेम वस्नेत (विजय)–ले गरेका थिए ।