झापाका पाँचवटै निर्वाचन क्षेत्रमा रास्वपा अगाडि

झापा । झापाका पाँचै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निकै अगाडि रहेका छन् । सुरुवाती मतगणनादेखि नै उनीहरूले निरन्तर मतान्तर बढाइरहेका छन् ।
देशकै सर्वाधिक चासो र चर्चाको क्षेत्र रहेको क्षेत्र नं. ५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)–ले नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारी मतान्तरले पछि पारेका छन् ।

यो समाचार तयार पार्दासम्म सो क्षेत्रमा बालेनले १३ हजार ६५४ मत प्राप्त गरेका छन् भने ओलीले ३०११ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा श्रम संस्कृति पार्टीका समीर तामाङले १५१७ मत प्राप्त गरेका छन् ।

झापा क्षेत्र नं १ मा रास्वपाकी निशा डाँगीले ७९४३ मतका साथ अग्रता कायम राखेकी छिन् । सो क्षेत्रमा श्रम संस्कृति पार्टीका केवलराम राईले २५१३ मत ल्याउँदा नेपाली कांग्रेसका केशवराज पाण्डेले १९३४ र नेकपा एमालेका रामचन्द्र उप्रेतीले १६७१ मत प्राप्त गरेका छन् ।

झापा क्षेत्र नं २ मा रास्वपाकी इन्दिरा राना मगर भारी मतान्तरले अघि छिन् । निवर्तमान उपसभामुख मगरले १०४४३ मत प्राप्त गर्दा निवर्तमान सभामुख नेकपा एमालेका देवराज घिमिरेले १७०३ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारीले १३५७ मत प्राप्त गरेका छन् ।

झापा क्षेत्र नं ३ मा राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनलाई भारी मतान्तरले पछि पार्दै रास्वपाका प्रकाश पाठक पहिलो स्थानमा छन् । पाठकले ९२६४ मत ल्याउँदा लिङ्देनले ४९२४ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेको श्रम संस्कृति पार्टीका दीपक तिम्सिनाले २४६३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी झापा ४ मा पनि रास्वपाका उम्मेदवार शम्भुप्रसाद ढकाल अगाडि छन् । उनलाई नेकपा एमालेका एलपी साँवाले पछ्याइरहेका छन् । ढकालले ४४८४ मत प्राप्त गर्दा साँवाले १२०३ मत ल्याएका छन् । कांग्रेसका देउकुमार थेबेले १०७३ मत प्राप्त गरेका छन् ।

जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार झापामा ७ लाख १३ हजार ५३७ मतदाता रहेकोमा ४ लाख ५७ हजार ४३५ जनाले मतदान गरेका छन् ।
अहिले पाँचै क्षेत्रमा शान्तिपूर्ण रुपमा मतगणना भइरहेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *