झापा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा क्षेत्र नं. ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)–का उम्मेद्वार बालेन्द्र (बालेन) शाहले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।
जारी मतगणनाको पछिल्लो परिणामअनुसार बालेनले अहिलेसम्म ३४ हजार ८६३ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ९ हजार ६८ मत प्राप्त गरेका छन् । बालेन र ओलीबीचको मतान्तर २५ हजार ७९५ रहेको छ ।
यसैगरी, जारी मतगणाको पछिल्लो परिणाम अनुसार झापाका अन्य ४ वटै क्षेत्रमा पनि रास्वपा उम्मेद्वारहरुले मतान्तर बढाउँदै लगेका छन् ।
झापा क्षेत्र नं १ मा रास्वपाकी निशा डाँगीले २०१०५ मतका साथ अग्रता कायम राख्दा निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका केवलराम राईले ५५०६ मत प्राप्त गरेका छन् । यहाँ १४ हजार ५९९ मतको अन्तर छ ।
झापा क्षेत्र नं २ मा रास्वपाकी इन्दिरा राना मगरले २०५३४ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी निवर्तमान सभामुख नेकपा एमालेका देवराज घिमिरेले ३८२९ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा मत अन्तर १६ हजार ७०५ रहेको छ ।
झापा क्षेत्र नं ३ मा रास्वपाका प्रकाश पाठकले १८०५५ प्रत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले ८४२६ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा ९ हजार ६२९ मतको फरक रहेको छ ।
यसैगरी झापा ४ मा पनि रास्वपाका उम्मेदवार शम्भुप्रसाद ढकाल निकै अगाडि छन् । ढकालले ६५३३ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लालप्रसाद (एलपी) साँवाले १८४१ मत प्राप्त गरेका छन् ।
जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार झापामा ७ लाख १३ हजार ५३७ मतदाता रहेकोमा ४ लाख ५७ हजार ४३५ मत खसेको थियो ।
अहिले पाँचै क्षेत्रमा शान्तिपूर्ण रुपमा मतगणना भइरहेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
