आर्थिक गणनाका लागि झापामा दुई गणना कार्यालय स्थापना

झापा । दोस्रो राष्ट्रिय आर्थिक गणनाका लागि झापामा दुईवटा गणना कार्यालय स्थापना भएका छन् ।

अर्थतन्त्र मापनका लागि आर्थिक गणना भन्ने मूल नारासहित दोस्रो राष्ट्रिय आर्थिक गणना २०८२ का लागि देशभर ८४ वटा जिल्ला आर्थिक गणना कार्यालय स्थापना हुने क्रममा झापामा दुईवटा गणना कार्यालय स्थापना भएका हुन् ।

झापामा मेचीनगर, बिर्तामोड, भद्रपुर नगरपालिका तथा बुद्धशान्ति, हल्दिबारी र कचनकवल गाउँपालिका कार्यक्षेत्र भएको आर्थिक गणना कार्यालय झापा क (भद्रपुर कार्यालय) प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान कलबलगुरीमा स्थापना भएको छ ।
कार्यालय स्थापनाकाक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक बिष्णुकुमार कार्कीले उपस्थित कर्मचारीलाई इमानदारीका साथ दत्तचित्त भई तोकिएको कार्य सम्पन्न गर्न निर्देशन दिँदै प्रतिष्ठानको एउटा कार्यक्षेत्र अनुसन्धानसमेत भएको र सोही प्रकृतिको कार्यालय आफ्नो परिसरमा स्थापना भएको धारणा राखे ।

यसैगरी झापाका बाँकी गाउँपालिका तथा नगरपालिका कार्यक्षेत्र भएको आर्थिक गणना कार्यालय झापा ख (दमक कार्यालय) दमक नगरपालिका वडा नं. ५ स्थित मोडल कलेज रोडमा स्थापना भएको छ ।

यसका साथै आर्थिक गणनाको समन्वय र सहजीकरण गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला आर्थिक गणना समन्वय समितिसमेत गठन गरिएको छ ।

आर्थिक गणनासम्बन्धी नेपाल सरकारले जारी गरेको आर्थिक गणनासम्बन्धी मापदण्ड २०८२ अनुसार यी कार्यालयहरुले आर्थिक गणना कार्यालयअन्तर्गत खटिएका गणक, सुपरीवेक्षक तथा अन्य कर्मचारीको सम्पूर्ण व्यवस्थापनको कार्य गर्ने, कार्यक्षेत्रभित्र गणना सामग्री वितरण तथा भरिएका फाराम संकलनलगायतका व्यवस्थापकीय कार्य गर्ने, तथ्यांक संकलनसँग सम्बन्धित निकाय तथा संस्थासँग समन्वय र सहकार्य गर्ने र प्रचार–प्रसार तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेछन् ।

यस गणनामा नेपालको भौगोलिक सिमानाभित्र रहेका आर्थिक क्रियाकलापमा संलग्न हुने प्रतिष्ठान तथा व्यवसायहरूको आर्थिक विवरणसँग सम्बन्धित तथ्यांक संकलन गर्ने कार्य हुनेछ । साधारण सडक पेटीमा मकै पोलेर बेच्नेदेखि ठूला–ठूला महलका पसल–व्यवसाय तथा उद्योगसमेत यस गणनामा गणना हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *