झापा । नेपाल उद्यमशील महिला संघ झापाको अध्यक्षमा ऐश्वर्या पाण्डे निर्वाचित भएकी छन् । संस्थाको सोमबार सम्पन्न नवौं बार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनले पाण्डेलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
समितिको बरिष्ठ उपाध्यक्षमा यशोदा प्रसाई भट्टराई, प्रथम उपाध्यक्षमा बिना थापा घिमिरे, द्वितीय उपाध्यक्षमा उमा प्रसाई, महासचिवमा चन्द्रकला भट्टराई, सहसचिवमा अस्मिता कुरुङ्वाङ र कोषाध्यक्षमा देविका कोइराला खनाल चयन भएको निर्वाचन समिति संयोजक सावित्रा दाहालले जानकारी दिइन् ।
समितिको सदस्यहरुमा रुपमाया दाहाल, निर्मला खरेल ओडारी, टिका प्रसाई मैनाली, सरिता थपलिया शिवाकोटी, रागिनी श्रीवास्तव, हेमा भण्डारी, विमला पौडेल भट्टराई, सुमित्रा र संगीता चिमरिया चयन भएको निर्वाचन समिति सदस्य स्वस्तिका आचार्यले बताइन् ।
संस्थाको नयाँ नेतृत्व चयनका लागि दाहालको संयोजकत्वमा राधा सुब्बा, कञ्चना ढकाल सिटौला, स्वस्तिका आचार्य र शिला तिम्सिना सदस्य रहेको पाँच सदस्यीय समिति गठन गरिएको थियो ।
यसअघि संस्थाकी अध्यक्ष पार्वता खरेल विमलीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशन उद्घाटन कार्यक्रममा फरक विधाका दुई जनालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा सफल उद्यमीको रुपमा कञ्चन पाउरोटी उद्योगकी सञ्चालक भीमा शिवाकोटी र महिला पत्रकार जनआन्दोलन डटकमकी सम्पादक रेजिना गौतमलाई महिलाका विषयवस्तुमा आवाज उठाएको तथा संस्थाका गतिविधि सञ्चारमा पुर्याउन योगदान दिएको भन्दै सम्मान गरिएको हो । सम्मानित दुवैलाई प्रमुख अतिथि प्रसाई र संस्थाकी अध्यक्ष विमलीले सम्मान पत्र, दोसल्ला र नगदसहित सम्मान गरेका थिए ।
सम्मानितहरुको सम्मानपत्र यशोदा प्रसाई र उमा प्रसाईले वाचन गरेको कार्यक्रमको सञ्चालन महासचिव बिना थापा घिमिरेले गरेकी थिइन् भने स्वागत ऐश्वर्या पाण्डेले गरेकी थिइन् ।
कार्यक्रममा चेम्बर अफ कमर्स झापाका अध्यक्ष ओमकृष्ण विमली, बिर्तामोड उद्योग वाणिज्य संघ अध्यक्ष राजु न्यौपाने, आयोजक संस्थाकी सस्थापक महासचिव सावित्रा दाहाल, सम्मानितद्वय भिमा शिवाकोटी र रेजिना गौतम, एबीसी नेपाल केन्द्रीय सदस्य कंचना ढकाल सिटौला, महिला मुक्ति अभियानकी अध्यक्ष राधा सुब्बा, नारी सञ्चार गृह झापाकी अध्यक्ष स्वस्तिका आचार्यलगायतले मन्तव्य राखेका थिए ।
नवनिर्वाचित पाण्डे नेतृत्वको समितिले सोमबारै पदभार ग्रहण गरेको बताइएको छ ।
