झापा । झापाको सदरमुकाम भद्रपुरमा पहिलो पटक आयोजना गरिएको ‘प्रथम अन्तर्राष्ट्रिय नकआउट छक् हक्की प्रतियोगिता २०८३’ मा सहभागी हुन आएका भारतीय खेलाडी तथा निर्णायकहरुलाई झापा र इलामका पर्यटकीय क्षेत्रको अवलोकन–भ्रमण गराइएको छ ।
फाइनल खेलको उपविजेता टिम भारतको आरके रोय अफ हक्की एकाडेमीका खेलाडी तथा प्रतियोगिताका अम्पायर–निर्णायकहरुलाई झापाको धार्मिक पर्यटकीयस्थल अर्जुनधारा जलेश्वरधाम, चन्द्रगढी सामुदायिक वनभित्र हेको चन्द्रगढी सिमसार क्षेत्र। इलामको हर्कटे र कन्यामको अवलोकन–भ्रमण गराइएको भद्रपुर नगर हक्की संघका अध्यक्ष सरोज वस्नेतलले जानकारी दिए ।
कोशी प्रदेशको आन्तरिक पर्यटन प्रवद्र्धनमा सघाउ पुर्याउने कार्यक्रमअन्तर्गत बाह्य खेलाडीहरुलाई ती धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन–भ्रमण गराइएको वस्नेतलले बताए ।

भारतीय खेलाडी तथा निर्णाययकहरुको टोलीले भ्रमण गराइएको पर्यटकीय स्थलहरुको खुलेर प्रशंसा गरेको र आफ्नो ठाउँमा पुगेपछि अरुलाई पनि भ्रमण गर्न सल्लाह दिने बताएको संघका महासचिव खगेन्द्र ढुंगानाले जानकारी दिए ।
भद्रपुर नगर हक्की संघको आयोजनामा यही कात्तिक १३, १४ र १५ गते भद्रपुर–९ पुहाँतु जनज्योति माविको खेल मैदानमा अन्तर्राष्ट्रियस्तरको हक्की प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगितामा भारतका ३ टिमको सहभागिता थियो । तीमध्ये आरके रोय अफ हक्की एकाडेमीले फाइनलसम्मको योत्रा तय गरेको थियो । फाइनलमा आयोजक भद्रपुर नगर हक्की संघसँग ४–२ गालअन्तरले पराजित भएको थियो ।
आयोजक संघले प्रतियोगितालाई केवल खेलमा मात्र सीमित नराखी गीत–संगीत पर्यटनसँग पनि जोडेको थियो ।
सोही अनुसार फाइनलसम्म पुगेको भारतीय टोलीलाई पर्यटकीय क्षेत्रको अवलोकन–भ्रमण गराइएको प्रतियोगिताका प्रमुख सल्लाहकार अनिल ढुंगानाले जानकारी दिए ।
