झापा । झापाका ५३ स्थानमा सामूहिक रूपमा छठ पर्व हर्षोल्लासका साथ मनाइएको छ ।
श्रद्धा, भक्ति र निष्ठापूर्वक व्रत बसेका व्रतालुहरूले आज विहान उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै यस वर्षको छठ पर्व सम्पन्न गरेका हुन् । हिजो साँझ सूर्यलाई अघ्र्य चढाएर पर्वको शुभारम्भ गरिएको थियो ।

झापामा सबैभन्दा ठूलो जमघट सीमावर्ती भद्रपुरस्थित मेची नदी किनारमा देखिएको थियो । नेपाल र भारतका नागरिकले मेची नदीको दुवै किनारमा एकसाथ छठ पर्व मनाउँदा नदी किनार भक्तजनले भरिभराउ भएको थियो ।
भद्रपुर नगरपालिका–५ स्थित मेची नदीको पश्चिमी किनारमा नेपाली नागरिक र पूर्वी किनारमा भारतीय नागरिकले संगमस्थल बनाएर पूजा–आराधना गरेका थिए । मसानघाटदेखि मेची पूलको मुख्यद्वार हुँदै देवीबस्तीसम्म करिब दुई किलोमिटर क्षेत्रमा दुबै देशका नागरिकले घाट सजाएर सूर्यदेवको उपासना गरेका थिए । सीमा नाकाको दुवैतर्फ एकै समयमा मनाइएको छठ पर्वले धार्मिक आस्था मात्र नभई दुई देशबीचको सामाजिक तथा सांस्कृतिक सम्बन्ध र आपसी सद्भावलाई समेत उजागर गरेको मैथिल समाज झापाका अध्यक्ष रमेशचन्द्र झाले बताए ।
मेची नदीमा पाँच हजारभन्दा बढी पूजास्थल (घाट) निर्माण गरी व्रतालु तथा उनीहरूका परिवारजनले सूर्य भगवानलाई अघ्र्य अर्पण गरेका थिए ।
मेची पूलनजिकै आयोजक मैथिल समाज झापाले सूर्य भगवानको अस्थायी मूर्ति स्थापना गरी विशेष पूजाआराधनाको व्यवस्था गरेको थियो । त्यसैगरी युनिक समूहले देवीबस्तीमा स्थानीयस्तरमै सूर्य भगवानको मन्दिर निर्माण गरी पूजा आयोजना गरेको थियो ।

छठ पर्वलाई थप आकर्षक बनाउन भद्रपुर नगरपालिकाले यस वर्ष पनि मेची नदी किनारमा सन्ध्याकालीन भजनसहित गंगा आरतीको आयोजना गरेको थियो । गंगा आरतीमा छठ अवलोकन गर्न आएका भक्तजनको उल्लेख्य सहभागिता रहेको भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले जानकारी दिए ।
यस वर्ष मेची नदी किनारमा मधेसी समुदायसँगै पहाडी, मारवाडी, बंगाली, राजवंशीलगायत विभिन्न समुदायका नागरिकले समेत उत्साहपूर्वक छठ मनाएका थिए । विभिन्न समुदायको सहभागिताले मेची नदी किनार धार्मिक सद्भाव र सांस्कृतिक एकताको साझा स्थल बनेको थियो ।
यसैगरी, जिल्लाका बिरिङ, कनकाई, रतुवा, निन्दालगायत ठूला तथा सहायक नदीकिनारमा घाट निर्माण गरी छठ पूजा मनाइयो ।
यस वर्ष झापामा उल्लेख्य संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ट्राफिक प्रहरी परिचालन गरिएको थियो । सुरक्षाका लागि तालिमप्राप्त कुकुर र ड्रोनसमेत प्रयोग गरिएको थियो ।
छठ पर्वलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन जिल्ला प्रशासन कार्यालयले विशेष सुरक्षा योजना लागू गरेको थियो । सोही योजनाअन्तर्गत जिल्लाभर नेपाल प्रहरीका एक हजार ५६ जना र सशस्त्र प्रहरी बलका ४३८ जना सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
