झापा । नेपाल रेडक्रस सोसाइटी झापा शाखाको ५२ औं वार्षिक साधारणसभा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।
शाखा सभापति लोकराज ढकालको अध्यक्षता एवम् झापाका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालको प्रमुख आतिथ्यमा उत्कृष्टलाई सम्मान गर्दै साधारणसभा सम्पन्न गरिएको हो ।

कार्यक्रममा रेवतीरमण नेपाल स्वयम्सेवा पुरस्कारबाट शाखाका पूर्व सभापति ओमप्रकाश सरावगीलाई नगद ३१ हजार १०१ सहित सम्मानपत्रले सम्मानित गरिएको थियो । नेपाल नेरेसो झापाका पूर्व सभापति थिए ।
यसैगरी वर्षभरिमा सबैभन्दा बढी रगत संकलन गर्ने तीनवटा संस्थालाई कदरपत्र प्रदान गरिएको थियो । रक्तदान कार्यक्रम आयोजना गरी सबैभन्दा बढी रगत संकलन गर्ने ब्रह्मकुमारी राजयोग सेवा केन्द्र झापा, बन्दी विकास पुस्तकालय चन्द्रगढी र वैदेशिक रोजगार व्यवसायी संघ झापालाई कदरपत्रले सम्मान गरिएको थियो । जिल्ला बाहिरबाट रक्तदाता सेवा पुर्याए वपत रेडक्रस उपशाखा फिक्कल इलामलाई समेत सम्मान गरिएको थियो ।
उपसभापति मित्रदेव काफ्लेले स्वगत गरेको कार्यक्रममा वार्षिक गतिविधि सभापति ढकालले प्रस्तुत गर्दै विपद व्यवस्थापन अन्र्तगत गत असोजमा आएको बाढीबाट पीडित झापा गाउँपालिका लगायतका ४२५ घर परिवारको उद्धार तथा राहत वितरण गरिएको जानकारी दिए ।

महामन्त्री चन्द्रप्रसाद चुडालले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि प्रजिअ गेलाल, सम्मानित व्यक्तित्व ओमप्रकाश सरावगी, रेडक्रस कोशी प्रदेश सभापति नरेन्द्रप्रसाद पोखरेललगायतले मानव सेवा रेडक्रसको पहिचान रहेकाले विगतदेखि वर्तमानसम्म यही भावनाअनुकुल झापा रेडक्रसले काम गरिरहेको भन्दै प्रशंसासमेत गरेका थिए ।
