झापामा सहकारीकर्मी र सञ्चारकर्मीबीच छलफल ः समस्या बारे सवाल–जवाफ

विर्तामोड । झापामा सहकारीकर्मी र सञ्चारकर्मीबीच जिल्लाको सहकारी अभियानमा देखिएका समस्या र चुनौती बारे आज विर्तामोडमा व्यापक छलफल भएको छ ।
झापा जिल्ला सहकारी संघ, जिल्ला बचत तथा ऋण सहकारी संघ र जिल्ला कृषि सहकारी संघले संयुक्त रुपमा आयोजना गरेको सहकारीको विद्यमान अवस्था, समस्या र चुनौती विषयक अभिमुखिकरणमा बृहत छलफल भएको हो ।

छलफलमा सहकारी क्षेत्रका अगुवाहरुले पछिल्लो समय सहकारीमा समस्या रहेको स्वीकार गरेका छन् । उनीहरुले सहकारीमा तरलता अभाव र सहकारी सञ्चालन कमजोरीका कारण समस्या आएको स्वीकार गरेका हुन् । अधिकांश सहकारीहरुमा बचत फिर्ता गर्न कठिना भइरहेको, कर्जा लगानी हुन नसकेको तथा कर्जाको किस्ता पनि उठ्न नसकेको विषयमा सवाल उठेको थियो ।

झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले सहकारीमा समस्या भइरहेको कुरा सत्य भएको बताउँदै सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न संघको तर्फबाट आवश्यक समन्वयको काम भइरहेको स्पष्ट पारे। नियतवश गलत गर्नेहरुलाई कारबाहीका लागि संघले नै माग गर्दै आएको पनि उनको भनाइ छ । ढकालले मुख्य रुपमा सहकारीहरु तरलताका कारण समस्यामा परेको बताउँदै संस्था सञ्चालनमा नीति नियम र विधि आत्मसात नगर्दा पनि कतिपय सहकारी समस्यामा फँस्दै गएको धारणा राखे । सहकारी सञ्चालकहरु पनि वेथितिको बाटोमा रहे सच्चिनुपर्ने उनको सुझाव छ ।

यस्तै, बचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष तुलाराम न्यौपानेले सहकारीहरुमा समस्या रहेको स्वीकार गर्दै तर सबै सहकारी समस्याग्रस्त भने नरहेको बताए । राज्यले सहकारी क्षेत्रको माग सम्बोधन गर्न नसक्दा अहिले समस्या आएको न्यौपानेको बुझाइ छ । उनले सहकारीको संख्या नै धेरै भएकाले समस्या पनि बढ्दै गएको बताए ।

सहकारी संघका सचिव भानु दंगालले सञ्चालन गरेको अभिमुखीकरणमा झापाको सहकारीहरुको समस्याका बारेमा जानकारी गराइएको थियो । उजुरी परेका समस्याहरु बारे पनि गरिएको कार्यक्रममा सहकारीका कर्मचारीहरुमाथि असुरक्षा बढिरहको बताइएको थियो । झापाको दमकमा कर्मचारीलाई कर्जा तिर्ने भन्दै घर बोलाएर अभद्र व्यवहार गरेको भन्दै आफूहरुले जिल्ला प्रशासन कार्यालयमा सुरक्षा माग गरेको अध्यक्ष ढकालले जानकारी दिए ।

कार्यक्रममा पत्रकारहरुले आर्थिक क्षेत्र जोखिममा हुने भएकाले अहिलेसम्म झापाको सहकारीलाई माया गरेको प्रतिक्रिया दिएका थिए । सहकारीहरुले अब पनि समस्याहरु सुल्झाउन नसके सदस्यहरुका समस्याहरु बाहिर ल्याउन बाध्य हुने अवगत गराए ।

सोही अवसरमा झापा जिल्ला सहकारी संघ र बचत तथा ऋण सहकारी संघका प्रतिनिधिले जिल्लाको सहकारीको वर्तमान अवस्था, चुनौतीका बारेमा सहजीकरण गरेका थिए ।

संघका उपाध्यक्ष महेन्द्र गिरीले सहकारीविरुद्ध व्यापक भ्रम छर्ने काम भइरहेको बताए । उनले आम नागरिक र सदस्यहरुमा सहकारीको वास्तविकतासँगै सकारात्मक सन्देश प्रवाह गर्न अभिमुखीकरण आयोजना गरिएको जानकारी दिए । उनले सकारात्मक सन्देश प्रवाह गरेर सहकारीहरुलाई सहयोग गर्न सञ्चारकर्मीसँग आग्रह गरे ।

यस्तै, सहकारीका अगुवा घनश्याम अधिकारीले झापाबाटै ऋण नतिर्नु भन्ने अभियान सञ्चालन भएकोमा दुख व्यक्त गरे । उनले ऋण नतिर्ने भन्नेहरुको अभियानमा लागेर ऋण नतिरे कारवाही हुने चेतावनी समेत दिए । उनले झापाका ५ प्रतिशत सहकारीहरुमा समस्या देखिएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *