बन्दहड्तालको विकल्प खोज्न माग गर्दै व्यवसायीद्वारा जिल्ला प्रशासनमा ज्ञापन

भद्रपुर । झापाका उद्यमी–व्यसायीले बन्द–हड्तालको विकल्प खोज्न आग्रह गरेका छन् । देशमा उद्योग–व्यवसाय धरासायी भइरहेको बेला बन्द–हड्ताल गरेर थप धरासायी नबनाउन आ्रह गरिएको छ ।

यसैक्रममा, नेपाल उद्योग तथा व्यवसाय महासंघ बिर्तामोड नगर कमिटीले व्यापार व्यवसाय निर्वाध रुपमा सञ्चालन गर्ने वातावरण बनाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापनपत्र बुझाएको छ । आइतबार महासंघको टोलीले प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेललाई ज्ञापनपत्र बुझाएको हो ।
नेपाल उद्योग तथा व्यवसाय महासंघ बिर्तामोड नगर कमिटी अध्यक्ष विवेक निरौला र सचिव गोमा भट्टराईद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा आर्थिक मन्दीको चपेटामा परेको अवस्थामा बन्द हड्ताल जस्ता कार्यले नेपाली अर्थतन्त्र तहस नहस हुने निश्चित भएको जनाइएको छ ।

विज्ञप्तिमा आर्थिक मन्दीकै कारण आयआर्जनमा परेको नकारात्मक असरका कारण आम्दानी घटेकोले बैँकको व्याज समेत तिर्न नसकेर व्यवसायी आत्मदाह र आत्महत्यासम्मको अवस्थामा पुगेको भन्दै ध्यानाकर्षण गराइएको छ ।

नेपाल उद्योग तथा व्यवसाय महासंघले विरोधका अन्य वैकल्पिक उपायहरु अपनाएर बजार, यातायात तथा शैक्षिक संस्था बन्द गर्ने कार्य तत्काल फिर्ता लिई व्यापार व्यवसाय निर्वाध रुपमा सञ्चालन गर्ने वातावरणको माग गरेको हो ।

महासंघ नगर कमिटीले बन्द हड्ताल जस्ता कार्य निरन्तर भइरहेमा बिर्तामोडका सम्पूर्ण व्यवसायी त्यसको सशक्त प्रतिवाद गर्न बाध्य हुने चेतावनी समेत दिएको छ ।

नेपाल उद्योग तथा व्यवसाय महासंघ बिर्तामोड नगर कमिटी अध्यक्ष विवेक निरौला र सचिव गोमा भट्टराई, बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुनकुमार मैनाली, व्यवसायी चुडामणि पौडेल लगायतको टोलीले ज्ञापन पत्र बुझाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *