भद्रपुरमा व्यवसायीले गरे आत्महत्या, श्रीमती छतबाट खस्दा गम्भीर घाइते

भद्रपुर । झापाको भद्रपुर नगरपालिका–६ निवासी व्यवसायी ४८ वर्षीय सुरेन्द्र अग्रवाल (मुन्ना)–ले आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका छन् ।

गएराति घरको छतमाथिको कोठामा सलले पासो लगाएर सुरेन्द्रले आत्महत्या गरेको र उनले आत्महत्या गरेको घटना थाहा पाएलगतै उनकी श्रीमती ३२ वर्षीया ऋचादेवी अग्रवालले पनि आत्महत्याको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ऋचादेवीले घरको एक तला माथिबाट हाम्फालेर आत्महत्याको प्रयास गरेकी थिइन् । छत माथिबाट हाम्फाल्दा उनको कम्मरसहित शरीरको विभिन्न स्थानमा गम्भीर चोट लागेको छ । उनको भारतको सिलिगुडीमा उपचार भइरहेको बताइएको छ ।

सुरेन्द्रको शव कानुनी प्रक्रिया पूरा गरी प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टम गरी परिवारजनलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । उनको स्थानीय मेची नदीमा दाहसंस्कार गरिएको छ ।

सुरेन्द्र व्यवसायी हुन् । उनको भद्रपुर बसपार्कनजिकै किराना पसल छ । आत्महत्याको कारण आर्थिक तथा पारिवारिक समस्या हुनसक्ने प्रहरीको अनुमान छ । जानकारहरुका अनुसार उनले बैंकबाट करिब ३० लाख रुपैयाँ कर्जा लिएका थिए । कर्जा तिर्नुपर्ने दवाबकै कारण उनले आत्महत्या गरेको हुनसक्ने छिमेकीहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *